२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

एसइईमा कर्णाली प्रदेशबाट ५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण

सत्यपाटीसत्यपाटी । कर्णाली । २०८२ असार १७ गते मंगलबार

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशका ५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार एसइईको नतिजा प्रकाशन गरेको थियो । गत वर्ष यस प्रदेशमा ४१ दशमलव ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यो वर्ष कर्णाली प्रदेशबाट एसइई दिएका ३१ हजार ७७३ विद्यार्थीमध्ये १८ हजार ४२ विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास निर्देशनालय, सुर्खेतका अनुसार १३ हजार ७३१ जना विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’मा परेका छन् । जुम्लाबाट दुई हजार ५१० परीक्षार्थीले एसइई दिएकामा एक हजार ९०० विद्यार्थी उत्तीर्ण भएका छन् भने ६०६ विद्यार्थी अनुत्तीर्ण भए ।

उत्तीर्ण हुने विद्यार्थीको प्रतिशतमा ७५.८५ रहेको शिक्षा विकास तथा समन्वय इकाइ, जुम्लाका प्रमुख शेरबहादुर रोकायाले बताए । कालीकोटबाट एसइईमा ६५.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कालीकोटबाट यस वर्ष तीन हजार १९५ जना एसइईमा सहभागी भएकामध्ये एक हजार ८२४ विद्यार्थी उत्तीर्ण भए । एक हजार ३७१ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

यस्तै शिक्षा विकास निर्देशनालय, सुर्खेतको तथ्यांक अनुसार मुगुबाट ६९.९ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण भएका छन् । ७३१ जनाले एसइई परीक्षा दिएका थिए । त्यसमध्ये ५०५ जना मात्र उत्तीर्ण भएका छन् । २२६ विद्यार्थी अनुत्तीर्ण भए । शिक्षा विकास निर्देशनालय, सुर्खेतका निमित्त निर्देशक दीपा हमालका अनुसार हुम्लादेखि ५१.६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

९३६ विद्यार्थीले एसइई दिएका थिए । जसमध्ये ४८३ विद्यार्थी उत्तीर्ण भएका छन् भने ४५३ विद्यार्थी अनुत्तीर्ण भएका छन् । डोल्पामा ३३.१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ७४६ विद्यार्थी एसइईमा उपस्थित भएका थिए । २४७ विद्यार्थी उत्तीर्ण भए भने ४९९ विद्यार्थी अनुत्तीर्ण भए ।

जाजरकोटबाट चार हजार ३०० परीक्षार्थीले एसइई दिएकामा तीन हजार ५३१ विद्यार्थी उत्तीर्ण भएका छन् भने ७६९ विद्यार्थी अनुत्तीर्ण भए । उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत ८२.११ रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले जनाइन् । रुकुम पश्चिमबाट यो वर्ष तीन हजार ४४५ जनाले एसइई दिएका थिए । जसमध्ये दुई हजार पाँच सय ८२ विद्यार्थी उत्तीर्ण भएका छन् ।

७४.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ भने ८६३ विद्यार्थी अनुत्तीर्ण भएका छन् । यस्तै दैलेखमा २२.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । यस वर्ष दैलेखबाट चार हजार ७७५ विद्यार्थीले एसइई दिएका थिए । जसमध्ये एक हजार ९३ विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै, तीन हजार ६८२ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

सल्यानमा दुई हजार ६७८ विद्यार्थी उत्तीर्ण भए । यो वर्ष चार हजार ६४ विद्यार्थीले एसइई दिएका थिए । यस वर्ष ६५ दशमलव ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताइएको छ । सल्यानमा एक हजार ३८६ विद्यार्थी अनुत्तीर्ण भए । सुर्खेतबाट ४५.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

सुर्खेतबाट यो वर्ष सात हजार ७१ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा तीन हजार १९५ विद्यार्थी उत्तीर्ण भएका छन् । तीन हजार ८७६ विद्यार्थी अनुत्तीर्ण भए । देशभर ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । चार लाख ३८ हजार ८९६ विद्यार्थी एसइईमा सहभागी भएका थिए भने दुई लाख ७१ हजार २९९ विद्यार्थी उत्तीर्ण भए । एक लाख ७६ हजार ५९७ विद्यार्थी अनुत्तीर्ण भए ।

प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार