२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

सिक्टा सिँचाइको गुरुवागाउँ शाखा नहरमा पानी छाडियो

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असार १७ गते मंगलबार

सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूलनहर अन्तर्गत रहेको ‘गुरुवागाउँ शाखा नहर’ परीक्षण गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका–५ बाट सुरु भएको उक्त शाखा नहरमा सोमबार पानी छाडेर औपचारिक रूपमा परीक्षण गरिएको हो ।

निर्माण कम्पनी भैरव–शुभानी जेभी काठमाडौंले २०८० फागुन १८ मा कुल ३७ करोड ८२ लाख, ८४ हजार ७३५ रूपैयाँ २४ पैसामा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो । निर्माण कम्पनीले २०८३ फागुन १७ मा कार्य सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको समय अगाडि नै निर्माण कार्य गरेको हो ।

उक्त योजनाको हाल भौतिक प्रगति ९२ प्रतिशत र वित्तीय प्रगति ९० प्रतिशत रहेको कार्यालयले जनाएको छ । आयोजनाको पश्चिम मूलनहरमार्फत ३३ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । यस्तै ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरबाट सात हजार ८१ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

शाखा नहरबाट १४ क्युमेक्स पानी सञ्चालन गर्न सक्ने क्षमता रहेको प्राविधिकहरू बताउँछन् । उक्त शाखाको विभिन्न ६ स्थानमा ढोका, नहरको पुल १२ वटा, भर्याङ दुई वटा, पक्की नहर दुई हजार ७०० मिटर निर्माण गरिएको छ । शाखा नहर निर्माणका लागि अधिग्रहण हुनुपर्ने क्षेत्रफल तीन लाख १८ हजार ९३६ दशमलव ६५ वर्गमिटर रहेकोमा हाल दुई लाख ९३ हजार ८४९ दशमलव ८३ वर्गमिटर जग्गा अधिग्रहण गरिएको छ ।

जग्गा अधिग्रहणका लागि आयोजना कार्यालयले ३८ करोड ५० लाख ५७ हजार ३६५ रूपैयाँ भुक्तानी गरिसकेको छ । आयोजना कार्यालयका अनुसार शाखानहर निर्माण भएपछि करिब एक हजार ५०० हेक्टर जमिनमा सिँचाइ पुगेको छ भने दोस्रो चरणमा यसको प्रशाखा र उपशाखा विस्तार तथा निर्माणका लागि डिजाइन र लागत इस्टिमेट तयार गरिँदैछ ।

आयोजना निर्देशक राजु आचार्यले बाँकेको बैजनाथ र खजुरा गाउँपालिकाका खेतीयोग्य जमिनलाई सिँचाइ गर्ने लक्ष्यका साथ गुरुवागाउँ शाखा नहर निर्माण गरिएको बताए । शाखा नहरमा पहिलो चरणको काम सम्पन्न हुने क्रममा रहेको र दोस्रो चरणमा प्रशाखा र उपशाखा नहर निर्माणको काम सुरु हुने उनले जानकारी दिए ।

‘निर्माण कम्पनीले निर्धारित समयभन्दा डेढ वर्षअगाडि नै काम गरेको छ । कम्पनीको मेहनत, स्रोत र साधनको प्रयोग राम्रो देखियो,’ उनले भने । आयोजनाले आव २०८९–०९० सम्म पश्चिम र पूर्वी नहरबाट ४२ हजार ७६६ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखे पनि त्यति समय कुर्न नपर्ने आचार्यले बताए ।

बैजनाथ गाउँपालिका–५ का वडाध्यक्ष देवबहादुर रावतले गुरुवागाउँ शाखानहर जस्तै अन्य शाखा, प्रशाखाको काम पनि दु्रत गतिमा सम्पन्न गर्न आग्रह गरे । ‘शाखा नहर सञ्चालन भएपछि पक्कै पनि उत्पादकत्व बढ्नेछ,’ उनले भने ।

बैजनाथ–६ का वडाध्यक्ष भूपाल पुन मगरले गुरुवागाउँ शाखा नहरले पूर्णता पाए पनि प्रशाखा र उपशाखा नहर नहुँदा किसानले पर्याप्त मात्रामा पानी उपयोग गर्न नसकेको बताए । ‘नहर खेतबारीको छेउबाट बगिरहेको छ तर प्रशाखा र उपशाखानहर नहुँदा किसानले सहज रूपमा पानी पाउन नसकेको अवस्था छ । यो समस्या समाधान गरिदिन म आग्रह गर्छु,’ उनले भने ।

राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासंघ बाँकेका अध्यक्ष शालिकराम डाँगीले गुरुवागाउँ शाखा नहरजस्तै अरू शाखामा पनि ठेकेदारले यसको सिको गर्नुपर्ने बताए । ‘गुरुवागाउँ शाखाको काम समयमै गर्नुभयो । अरू ठेकेदारले पनि यसको सिको गर्नुहोला,’ उनले भने, ‘सिक्टाको नहर किसानका लागि अमृत हो । हामीलाई खेती गर्नका लागि पानी, मल र बिउ चाहिन्छ ।’

प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार