सूचनाको शक्ति - The Power Of Information

        

बाढीपीडितका लागि डुुडुवा गाउँपालिकाले बनायो सामुदायिक अस्पताल

बाँके डुडुवा गाउँपालिकाका बाढी र डुबान पीडितको उपचारका लागि गाउँपालिकाले गाउँमै पाँच शय्याको सामुदायिक आधारभूत अस्पताल निर्माण गरेको छ । राप्ती नदी तटीय क्षेत्रमा बाढी र डुबानका कारण झाडापखाला, हैजा र लुतोसँगै छालासम्बन्धी रोगको सङ्क्रमणबाट विपन्न समुदायका बासिन्दा बढी प्रभावित हुँदै आएकाले उनिहरूको उपचारका लागि सो अस्पताल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताए ।

उनले आर्थिक अवस्था कमजोर भएकाले नेपालगन्जका ठुला अस्पतालमा पुगेर उपचार गर्न नसक्दा जोखिममा पर्दै आएको हुँदा उनिहरूको निःशुल्क औषधी उपचार गर्न सामुदायिक आधारभूत अस्पताल निर्माण गरेर उपचारको व्यवस्था गर्न थालिएको बताए । अध्यक्ष चौधरीका अनुसार डुडुवा, गन्धैली र सुतैया नालासँगै राप्ती नदीमा आउने बाढीका कारण डुडुवा गााउँपालिकाका अधिकांश बस्ती जलमग्न हुन्छन ।

तीनतिरबाट नदीले घेरिएको नदी पूर्वको बस्ती चौफेरिका बासिन्दालाई विपदको बेला ज्यान जोगाउनै कठिन हुन्छ । डुबानका बेला शुद्ध पिउने पानीको अभावमा धेरै जसो बिरामी हुने, तर औषधी उपचार गर्न बजार जान समेत नसक्ने हुँदा त्यस्ता प्रभावित क्षेत्रका बासिन्दालाई तटिय क्षेत्रमै उपचारका लागि डुडुवा गााउँपालिकाले बेतहनीमा पाँच शय्याको अस्पताल सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

राप्ती नदी तटिय बस्ती बेतहनीका रामफेरन गुप्ताले बाढी र डुबानसँगै आउने सरूवा रोगका कारण समयमा उपचार ज्याननै जोखिमा पर्ने गरेको सुनाउँदै अहिले गाउँमै अस्पताल निर्माण गरिएकाले धरैले उपचार पाउने आशा बढेको बताए । उनका अनुसार राप्ती नदी र नालाहरूमा आउने बाढीले नडुबाएको कुनै वर्ष छैन । सोही कारणले हरेक वर्ष झाडापखाला र हैजा जस्तो प्रकोप पनि फैलिने गरेको छ ।

सो सामुदायिक अस्पताल भवनको निर्माण पूरा गरी त्यहाँ रोग परीक्षण गर्ने ल्याबसहितका उपकरण धमाधम जडान भरहेको र औषधी खरिद प्रकृया अन्तिम चरणमा पुगेको डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शाखाका अनुसार अस्पतालमा एक्सरे मेसिन जडान हुनुका साथै बिरामी राख्ने वार्डहरू निर्माण भइसकेका छन् । यस्तै चिकित्सकको पदपुर्ति पनि सुरू गरिएको छ ।

करिब तीन करोड रूपियाँ लागतमा सो सामुदायिक आधारभूत अस्पताल निर्माण गरिएको हो । एक जना मेडिकल अफिसरको नेतृत्वमा सञ्चालन गरिने अस्पतालले ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार गर्ने जनाइएको छ । डुबानका बेला प्रसूतिका लागि नेपालगन्ज जान सक्ने अवस्थामा हुँदैनन् । यस्तो अवस्थामा महिला शिशुको जीवन रक्षाका लागि निर्माण भइरहेको अस्पतालमै प्रसूतिसम्बन्धी उपचारको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १८:४७