सूचनाको शक्ति - The Power Of Information

        

बाकसमा फर्किए सप्तरीका २४ युवा

सुन्दर सपना र घरपरिवार पाल्ने जिम्मेवारी बोकेर वैदेशिक रोजगारका लागि गएका २४ जना युवा सम्झनामा सिमित भएका छन् । देशमा रोजगारीको अवसर नपाएर घरको आर्थिक अभाव टार्ने विकल्पको रुपमा विदेशिएका सप्तरीका २४ जना युवा अब सम्झनामा मात्रै रहेका हुन् ।

वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका उनीहरुमध्ये कोही बासकमा फर्किए भने कोहीको अहिलेसम्म सम्पर्कमा आएका छैन । आर्थिक वर्ष २०८१–०८२ को जेठसम्ममा सप्तरीबाट १७ हजार १२२ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् ।

जसमा १६ हजार ८९३ पुरुष र २२९ महिला छन् । यसमध्ये २४ जनाको मृत्यु भएको छ भने ५९४ जना ठगीमा परेका छन् । वैदेशिक रोजगारकै क्रममा ज्यान गुमाउनेहरुमा सप्तरीको खडक नगरपालिका, तिरहुत गाउँपालिका र रुपनी गाउँपालिकाका तीन–तीन जना छन् ।

यस्तै डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी, कंचनरुप, महादेवा गाउँपालिका र बलान बिहुल गाउँपालिकाका दुई–दुई तथा राजविराज, सप्तकोशी, शम्भुनाथ नगरपालिका, राजगढ गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक–एक जना नेपाली युवाले विदेशी भूमीमा ज्यान गुमाएको सुरक्षित आप्रवासन (सामी)का जिल्ला कार्यक्रम संयोजक राजेन्द्रकुमार यादवले जानकारी दिए ।

उनले जिल्लाबाट वैदेशिक रोजगारीका नाममा विभिन्न व्यक्ति, एजेन्ट र म्यानपावर कम्पनीहरुबाट ५९४ ठगीमा परेको बताए । गत आर्थिक वर्ष २०८०–०८१ मा सप्तरीबाट रोजगारीका लागि १६३ महिला र १२ हजार ३९४ पुरुष गरी कुल १२ हजार ४५७ जना विदेशिएका थिए ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १८:३३