सूचनाको शक्ति - The Power Of Information

        

साइबर ब्यूरोमा किन पुगिन् गायिका एलिना चौहान ?

सामाजिक सञ्जालको दुरुपयोग गर्दै चरित्रहत्या हुने गरी कमेन्ट गरेको भन्दै गायिका एलिना चौहान नेपाल प्रहरीको साइबर ब्यूरो पुगेकी छिन् । साइबर अपराध कसुरमा उनले आज चार जनाविरूद्ध उजुरी दिएकी छिन् ।

आफ्नो फेसबुक पेजमा असभ्य र आपत्तिजनक कमेन्ट गर्नेविरुद्ध एलिनाले सोमबार निवेदन दिएकी हुन् । उनले साइबर ब्यूरोको अफिसमा पुगेर खिचिएको तस्वीर सामाजिक सञ्जालमा राख्दै उनले लेखेकी छिन्, ‘यो लडाईं मेरो मात्रै होइन, चरित्रहत्या गर्ने अधिकार कसैको छैन, सबैलाई साथ दिनुहोला ।’

उनले फेसबुकमा अमर्यादित कमेन्ट गर्नेलाई कानुनी कारबाहीका लागि माग गर्दै निवेदन दिएको नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । उनले भने, ‘एलिनाको निवेदन दर्ता गरेर अनुसन्धान गर्दैछौँ ।’ ब्युरो स्रोतका अनुसार, एलिनाले निवेदनमा अमर्यादित कमेन्ट गर्ने चार जनाको नाम उल्लेख गरेकी छन् ।

उनीहरूले फेक एकाउन्टमार्फत कमेन्ट गरे वा वास्तविकमार्फत भन्ने विषयमा ब्युरोले अनुसन्धान थालेको छ । सम्बन्ध विच्छेदपछि व्यक्तिगत जीवनका विषयमा उनका स्टाटसमा विभिन्न व्यक्तिहरूले अश्लिल शब्दहरू पोष्ट गरेका थिए । ती पोष्टहरू पनि एलिनाले फेसबुकबाट सार्वजनिक गर्दै आएकी छिन् ।

अभद्र कमेन्ट गर्ने बाँकी प्रयोगकर्तालाई पनि क्रमशः जाहेरी दिँदै जाने उनले बताइन् । पछिल्लो समय गायिकाद्वय एलिना र समीक्षा अधिकारीमाथि सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्नेविरुद्ध आफैंले प्रयोगकर्ताहरूको तस्वीर र कमेन्टसहित ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् । यो अभियानसँगै अहिले अमर्यादित कमेन्ट आउने क्रम कम भएको एलिनाले बताइन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १८:२७