सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा आइतबारदेखि लगातार भारी वर्षा भइरहेको छ । बेलौरी, कृष्णपुर र धनगढी क्षेत्रमा अत्यधिक पानी परिरहेकाले डुबानको जोखिम बढेको छ । स्थानीय बासिन्दालाई सतर्क रहन सुरक्षाकर्मीहरूले आग्रह गरेका छन् ।
कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा लगातार पानी परिरहेको छ भने डडेल्धुराको जोगबुढा क्षेत्र, डोटी र कैलालीका चुरे पहाडमा परेको वर्षाले त्यहाँबाट बग्ने खोलानदीमा पानीको बहाव बढेको छ । यसबाट तलका बस्तीहरूमा जोखिम उत्पन्न भएको हो ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ परिचालनमा छन् । नागरिकहरूलाई नदी किनार, खोला आसपास र डुबान हुने स्थानहरूमा नजान आग्रह गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशको कुनै स्थानमा ठुलो क्षति पुगेको खबर भने प्राप्त भएको छैन ।
यद्यपि मौसमले थप प्रभाव पार्न सक्ने भएकाले सतर्कता आवश्यक रहेको प्रहरीको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाले पनि सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागमा अझै केही समय वर्षा जारी रहने पूर्वानुमान गरेको छ । महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सत्यपाटी संवाददाता । सुदूरपश्चिम