नेपालमा एचआइभी संक्रमितको अनुमानित संख्या ३० हजारभन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ । नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआइभीको संक्रमण अवस्था छ ।
मुख्य जोखिम समूह पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरू, लैङ्गिक अल्पसंख्यक व्यक्तिहरू, महिला यौनकर्मीहरू, लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरू, आप्रवासी व्यक्तिहरू छन् । एचआइभी संक्रमितहरू महिलाभन्दा पुरुष बढी रहेका छन् ।
नयाँ संक्रमणको वार्षिक दर पनि ६१४ छ भने मृत्युको संख्या ५६९ रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले बताइन् । उनका अनुसार नेपालमा एचआइभी संक्रमित गर्भवती महिलाको संख्या २२७ रहेको छ ।
यौन व्यवसायमा संलग्न व्यक्तिहरू १ लाख १५ हजार ९१९ जनामा, पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष ७७ हजार ३४० जना र लैङ्गिक अल्पसंख्यक व्यक्तिहरू ३२ हजार ८९५ जना, जेलमा भएको व्यक्तिहरू २७ हजार ८३९ र लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरू ४४ हजार ३५० जनामा यो अध्यायन गरिएको हो ।
निःशुल्क साधन अभाव, परीक्षण सेवा विस्तारमा रोक र दातृ निकायमा निर्भरता बढ्दै जाँदा नेपालले सन् २०३० भित्र एचआइभी नियन्त्रण गर्ने अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न निकै चुनौती खेप्नुपर्ने विज्ञहरूले बताएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं