बिरामीको उपचारमा लापरबाही गरेको ठहर गर्दै पछिल्ला केही दिनयता उपभोक्ता अदालतले चिकित्सक तथा अस्पताललाई क्षतिपूर्ति भराउन दिएको आदेशले चिकित्सा क्षेत्र त्रासमा छ ।
चिकित्सकहरूले चिकित्सक भगवान् नभई चिकित्सा विज्ञान अध्ययन गरेका बिरामीको परीक्षण गर्ने पेसाकर्मी मात्र भएकाले क्षतिपूर्ति माग गर्ने हो भने आफ्नोमा उपचार गराउन नआउन सामाजिक सञ्जालमार्फत सन्देश दिएका छन् ।
सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, शनिबार बिहान मिर्गौला काम नलाग्ने भएर डायलासिस गराइरहेृका बिरामी बुटवलबाट एम्बुलेन्समा पुल्चोकस्थित एक स्वास्थ्य संस्थामा आएका थिए ।
उनलाई तत्काल मनमोहन कार्डियाक सेन्टरमा प्रेषण गरियो । उनलाई हृदयाघातको लक्षण थियो । मनमोहनले पुनः पुल्चोकमै फर्काइदिएपछि निदान अस्पतालको आइसियुमा शनिबार बिहान उनको निधन भयो ।
यो घटनाले चिकित्सक अब गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न पर सर्दैछन् भन्ने देखाउँछ । पछिल्ला केही दिनयता उपभोक्ता अदालतले उपचारमा लापर्बाही गरेको ठहर गर्दै अस्पताल तथा चिकित्सकलाई क्षतिपूर्ति भराउने फैसला गर्दै आएको छ ।
उपभोक्ता अदालतले जमलस्थित ग्राण्डी सिटी अस्पताललाई १७ लाख १५ हजार ७०० र त्यहाँ कार्यरत चिकित्सक डा.सञ्जीव त्रिपाठीले ४० लाख तीन हजार ३०० रुपैयाँ बेहोर्नुपर्ने आदेश दियो ।
यस्तै उपभोक्ता अदालतले गत बिहीबार उपचारका क्रममा लापर्बाहीका कारण बिरामीको मृत्यु भएको भन्दै ज्ञानेश्वरस्थित हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न चिकित्सकलाई एक करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ ।
अदालतबाट अस्पतालले एक करोड एक लाख ८० हजार रुपैयाँ र चिकित्सकले ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको थियो । यस्तै केही दिनअघि मात्र चावहिलस्थित ओम अस्पताल र अस्पतालका चिकित्सकलाई समेत क्षतिपूर्ति तिराउने आदेश दिएको थियो ।
ओम अस्पतालमा कार्यरत दुई चिकित्सकले तीन लाख पाँच हजार र अस्पतालले ५६ लाख ८१ हजार क्षतिपूर्ति दिनुपर्ने अदालतले फैसला गरेको थियो । चिकित्सक तथा सम्बद्ध संस्थाहरूले उपभोक्ता अदालतले अस्पताल र चिकित्सकले बेहोर्नै नसक्ने गरी क्षतिपूर्ति रकम तोक्दै जाने हो भने चिकित्सक पलायन हुने तथा समग्र स्वास्थ्य सेवामा असर पर्ने बताएका छन् ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्की अदालतको फैसला अवैज्ञानिक, अदूरदर्शी रहेको तर्क गर्छन् । नक्कली सुन बेच्नेलाई कारबाही गरेजस्तो अस्पताल र चिकित्सकलाई गरेको उनको गुनासो छ ।
सत्यपाटी संवाददाता । काठमाडौं