जग्गा प्राप्ति नहुँदा त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलस्थित सिनामंगल हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ हुने देखिएको छ । सुरक्षा जोखिम औंल्याउँदै सरकारले आयल निगमको सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गर्ने निर्णय गरे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गाको स्वामित्व हस्तान्तण नगर्दा डिपो स्थानान्तरणको कार्य विलम्ब भएको निगमले स्पष्ट पारेको छ ।
प्राधिकरणबाट तोकिएको जग्गाको स्पष्ट सीमांकन (चारकिल्ला छुट्याउने), ‘साइट क्लिरेन्स’ र प्रस्तावित डिपो क्षेत्रमा रहेका संरचना नहटाउँदा डिपो स्थानान्तरणको काम अघि बढाउन कठिनाइ भइरहेको निगमका सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादव बताउँछन् । भन्छन्, ‘जग्गाको चार किल्ला छुट्याउन तथा जग्गा हस्तान्तरण सम्झौता गर्न पटकपटक प्राधिकरणसँग तोकेता गरेका छौं । तर, माटोको ढिस्को हटाउनेबाहेक पछिल्लो आठ महिनायता जग्गा प्राप्तिमा प्रगति भएको छैन ।’
सिनामंगल डिपोका कारण विमानस्थलमा सुरक्षा चुनौती थपिएको भन्दै सरकारले २८ साउन ०८१ को मन्त्रिपरिषद् बैठकबाट उक्त डिपो विमानस्थलको उत्तरतर्फको गौचर क्षेत्रमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । गत साउनमा विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटनापछि सो क्षेत्रबाट डिपो सुरक्षित स्थानमा सार्नुपर्ने आवाज उठेको थियो । विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले तयार पारेको गुरुयोजना अनुसार सिनामंगल डिपो सो क्षेत्रमा सार्ने तयारी गरिएको हो ।
विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि गर्न प्राधिकरणले विमानस्थल स्तरोन्नति गरी फराकिलो र सुरक्षित बनाउने कार्य गरिरहेको छ । प्राधिकरणले डिपो सार्न गौचरस्थित नेपाली सेनाको गल्फ कोर्स क्षेत्रमा करिब ६० रोपनी जग्गा छुट्याइदिएको भए पनि उक्त जग्गा प्राप्तिमा विभिन्न समस्या देखिएको निगमले जनाएको छ । निगमले जग्गा सम्झौताका लागि पटक–पटक आग्रह गरिरहे पनि त्यस सम्बन्धमा प्रगति हुन नसकेको डिपो प्रमुख यादव बताउँछन् ।
डिपो स्थानान्तरण गरिने जग्गामा रुख कटान र केही संरचना हटाउन बाँकी छ । करिब २०० रूख कटान गर्नुपर्ने अनुमान छ । त्यसबाहेकका जग्गामा रहेको ढिस्को सम्याएर राखिएको छ । जग्गा सम्याउने काम करिब सम्पन्न भएको निगमका साइट इन्जिनियर मानबहादुर सिंह बताउँछन् । भन्छन्, ‘डिपो सार्ने भनी तोकिएको क्षेत्रमा रहेको गल्फ कोर्सका केही भवन हटाउने र चार किल्ला छुट्याउने काम नहुँदा परियोजना शुरु गर्न ढिलाइ हुने देखिएको छ ।’ त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डे भने डिपो स्थानान्तरणका लागि जग्गा हस्तान्तरणको प्रक्रिया अघि बढिसकेको बताउँछन् ।
उनी भन्छन्, ‘जग्गाको बहाल कर छुटसम्बन्धी प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेको छ । त्यससम्बन्धी निर्णय भएपछि सो जग्गा हस्तान्तरण हुन्छ ।’ निगमले सो क्षेत्रमा डिपो स्थानान्तरणसम्बन्धी विस्तृत परियोजना प्रस्ताव निर्माणका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकसँग गत ५ मंसिरमा सम्झौता गरेको थियो । इन्जिनियरिङ अध्ययन संस्थानले निगमलाई प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ । अन्तिम प्रतिवेदन यही असार मसान्तसम्म बुझाउने छ ।
विस्तृत परियोजना प्रस्ताव प्राप्त हुने क्रममा रहेकाले जग्गा प्राप्ति प्रक्रिया टुंगिनेबित्तिकै डिपो स्थानान्तरणको काम तीव्र गतिमा अघि बढाउने निगमको योजना छ । प्रारम्भिक प्रतिवेदनअनुसार डिपो स्थानान्तरण गर्न करिब ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । प्रस्तावित निर्माणस्थलमा ‘अमेरिकी पेट्रोलियम इन्स्टिच्युट (एपीआई)’ मापदण्डअनुसारको हवाई इन्धन भण्डारणका लागि आठ ‘भर्टिकल ट्यांक’ र अग्नि नियन्त्रणका लागि दुई पानी ट्यांकी निर्माण गरिने प्रमुख यादवको भनाइ छ ।
अन्तर्राष्ट्रीय मापदण्डभन्दा बाहिर रहेको सिनामंगलस्थित डिपोका कारण हवाई उड्डयन क्षेत्रसमेत जोखिममा रहेको अवस्थालाई मध्यनजर गरी डिपो स्थानान्तरण गर्न लागिएको हो । अन्तर्राष्ट्रीय मापदण्डअनुसार विमानस्थलको धावन मार्गदेखि ‘ट्याक्सीे वे’बीच हुनुपर्ने निश्चित दूरी कायम गर्न निगमको डिपो करिब आधा हटाउनुपर्ने अवस्था छ । मुख्य धावनमार्गको केन्द्रदेखि ‘ट्याक्सी वे’बीचको दूरी १७२.५ मिटर हुनुपर्ने अन्तर्राष्ट्रीय मापदण्ड भए पनि अहिले विमानस्थलमा सो दूरी करिब ९० मिटर मात्रै छ ।
पछिल्लो समय हवाई साधनको चाप बढेको तथा हवाई इन्धनको मौज्दात कम हुँदै गएकाले पनि डिपो स्थानान्तरण आवश्यक भएको निगमको भनाइ छ । करिब ५० वर्ष पुरानो सिनामंगल हवाई इन्धन डिपोको भण्डारण क्षमता ७ हजार ६६० किलोलिटर छ । हाल यहाँबाट दैनिक ४०० किलोलिटर हवाई इन्धन बिक्री वितरण हुँदै आएको छ । यो डिपोमा १ हजार ६०० किलोलिटरका ३, ७६० किलोलिटरका ३ र ७० किलोलिटर क्षमताका ८ इन्धन भण्डारण ट्यांक छन् ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको निगम ०२७ सालमा स्थापना भई नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरण गर्दै आएको छ । निगमले देशका विभिन्न स्थानमा १० हवाई इन्धन डिपो र २ हवाई इन्धन ‘रिफ्युलिङ स्टेसन’ सञ्चालनमा ल्याएको छ । निगमले भारतको सरकारी स्वामित्वको इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट इन्धन खरिद गरी देशभर बिक्री–वितरण एवं भण्डारण गर्दै आएको छ । विराटनगर, धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, काठमाडौं, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीमा इन्धन भण्डारण गृह छ । हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ६० हजार ३८४ किलोलिटर छ ।
सत्यपाटी