२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

कार्बोहाइड्रेड : स्वास्थ्यका लागि मित्र कि दुश्मन ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार १६ गते सोमबार

मानव शरीर मेसिनहरूको भण्डार नै हो । कलेजो, मिर्गौला, मुटु, इन्टेस्टाइन, फोक्सो सबै प्राकृतिक मेसिन हुन् । कृत्रिम मेसिनहरूलाई जस्तै यिनीहरूलाई पनि इन्धनको आवश्यकता हुन्छ । र, त्यस्तो इन्धन यिनीहरूले भोजनबाट प्राप्त गर्छन् । हामीले खाएको भोजन पचाएर शरीरले इन्धन प्राप्त गर्छ । र, त्यसलाई आवश्यक पर्ने अंगहरूमा बाँडिदिन्छ ।

भोजनमा अनेक प्रकारका पोषक तत्त्व हुन्छन् । त्यस्तै एउटा माइक्रो न्युट्रिएन्स कार्बोहाइड्रेड हो । र, त्यो भात, रोटी र फलहरूबाट शरीरले प्राप्त गर्छ । कार्बोहाइड्रेडलाई छोटकरीमा कार्ब पनि भनिन्छ । कार्ब ऊर्जाको आधारभूत स्रोत हो । मेटाबोलिक साइन्सका विज्ञहरू मोटोपन बढ्नुमा हाई सुगर र हाई कार्ब फुडहरूलाई जिम्मेवार मान्छन् ।

टाइप–२ डाइबिटिज र अन्य स्वास्थ्य समस्यामा पनि कार्ब फुड्सलाई जिम्मेवार मानिन्छ । सोही कारण कार्बोहाइड्रेडलाई शरीरका लागि हानीकारक भएको बताउनेहरूको संख्या बढी छ । तथापि, कुरा त्यस्तो होइन । कार्बोहाइड्रेड शरीरको मित्र र दुश्मन दुवै हो । कार्ब दुई प्रकारका हुन्छन्, सिम्पल र कम्प्लेक्स । सिम्पल कार्बलाई पचाउन शरीरलाई कुनै मिहिनेत पर्दैन ।

सोही कारण सिम्पल कार्ब सहजै ऊर्जामा रूपान्तरित हुन्छन् । कम्प्लेक्स कार्ब भने फाइबरयुक्त हुन्छन् । यस्तो कार्ब ढिलो पच्छन् । यिनले ब्लड सुगर बढाउँदैनन् । र, गट माइक्रोबायोम्सका मित्र हुन्छन् । तथापि, सिम्पल कार्ब जति सहजै पच्छन्, त्यति नै ब्लड सुगरको लेभल बढाउन जिम्मेवार हुन्छन् । सोही कारण सिम्पल कार्बको बढी सेवन स्वास्थ्यका लागि हानीकारक मानिएको छ । जस्तो, चिनीमा सिम्पल कार्ब पाइन्छ ।

यस्तो कार्बमा कुनै पोषक तत्त्व हुँदैन । तथापि, यस्तो कार्ब प्राकृतिक स्रोतबाट प्राप्त भएको छ भने ज्यादा नोक्सानदायी हुँदैन । किनकि, प्रकृतिले यिनको साथमा कम्प्लेक्स कार्ब अर्थात फाइबर पनि साथै पठाएको हुन्छ । र, मिनरल्स पनि साथमै हुन्छ । त्यसैले कम्प्लेक्स कार्बयुक्त खानेकुरामा चिकित्सकहरूले जोड दिने गरेका छन् । फाइबरयुक्त खानेकुरामा यस्तो कार्ब पाइन्छ । र, शरीरलाई सन्तुलित राख्न यस्तो कार्बको भूमिका महत्त्वपूर्ण हुन्छ ।

के-केमा पाइन्छ बढी कम्प्लेक्स कार्ब ?

जुनेलो – जुनेलो एक प्रकारको पौष्टिक अनाज हो । त्यसलाई हेल्थ कन्सस मानिसहरू ज्यादा रुचाउँछन् । वैज्ञानिक रूपमा यो सिड्स क्याटेगोरीमा पर्छ । तर, यसलाई मानिसलाई उब्जाएर खाने गर्छन् । यसमा ७० प्रतिशत कार्ब हुन्छ । र, प्रोटिन र फाइबरको राम्रो स्रोत मानिन्छ । यसले ब्लड सुगरलाई नियन्त्रणमा राख्ने प्रयोगबाटै पुष्टि भएको छ । र, यो मुटुको स्वास्थ्यका लागि लाभदायक मानिन्छ । जुनेलोलाई गहुँको राम्रो विकल्प मानिन्छ ।

ओट्स – ओट्स पनि स्वास्थ्यका लागि लाभदायक मानिन्छ । ओट्सको प्रयोग बिस्कुट बनाउनमा पनि हुन्छ । यसमा हाई कार्बका साथमा धेरै भिटामिन, मिनरल्स र एन्टी–अक्सिडेन्ट्स पनि पाइन्छ । यसमा ७० प्रतिशत कार्ब र बिटा ग्लुकेन नामक खास फाइबर पनि प्रचुर मात्रामा पाइन्छ । यो प्राटिनको राम्रो स्रोत हो । यसको नियमित सेवनबाट कोलेस्टेरोलको मात्रा घट्छ । र, हृदय रोगको जोखिम पनि कम गराउँछ । टाइप–२ डाइबिटिजका बिरामीका लागि पनि यो लाभदायक हुन्छ ।

केरा – केरा संसारमा सबैभन्दा बढी रुचाइने फल हो । एउटा केरामा ३० ग्राम कार्ब हुन्छ । पोटेसियम तथा ‘भिटामिन–बी ६’ र ‘भिटामिन–सी ईएल’ पनि केरामा भरपुर मात्रामा पाइन्छ । यसले हाइपर टेन्सन कम गर्न मद्दत पु¥याउँछ । पाचनतन्त्रमा भोजन पचाउन पनि यो उपयोगी हुन्छ ।

सखरखण्ड – हाम्रो गाउँघरमा ‘सुठुनी’ भनेर चिनिने सखरखण्डमा प्रशस्त कार्ब पाइन्छ । १०० ग्राम सखरखण्डमा करिब २०.७ ग्राम कार्ब हुन्छ । यो ‘भिटामिन–ए’, ‘भिटामिन–सी’ र पोटेसियमको राम्रो स्रोत हो । यो एन्टीअक्सिडेन्टबाट भरपुर हुन्छ ।

चुकन्दर – बिटरुट अर्थात चुकन्दर हाम्रो शरीरका लागि अति उपयोगी हुन्छ । यो अति पौष्टिक पनि हुन्छ । चुकन्दरलाई हाई–कार्ब फुड मानिँदैन । १०० ग्राम चुकन्दरमा १० ग्राम कार्ब हुन्छ । यसमा एन्टिअक्सिडेन्ट र प्लान्ट कम्पाउन्ड्सका साथमा भिटामिन र मिनरल्स पनि पाइन्छ । चुकन्दरमा अकार्बनिक नाइट्रेट भरपुर पाइन्छ । यसले शरीरमा नाइट्रिक अक्साइड बनाउँछ । नाइट्रिक अक्साइडले हाइपरटेन्सनलाई कम गर्छ । र, धेरै प्रकारका बिरामीबाट बचाउँछ ।

स्याउ – स्याउ जति स्वादिलो हुन्छ, उति नै गुनिलो पनि । १०० ग्राम स्याउन १४ देखि १६ ग्राम कार्ब हुन्छ । साथमा धेरै प्रकारका भिटामिन र मिनरल्स पनि पाइन्छ । यो भिटामिन–सी, एन्टिअक्सिडेन्ट र फाइबरको राम्रो स्रोत हो । नियमित स्याउ खाँदा ब्लड सुगर र मुटुको स्वास्थ्य व्यवस्थित रहन्छ । र, क्यान्सरको खतरा पनि कम हुने विज्ञहरूको दाबी छ ।

सुन्तला – सुन्तला सबैभन्दा लोकप्रिय फल हो । यसमा पानीको मात्रा प्रशस्त हुन्छ । १०० ग्राम सुन्तलामा १५.५ ग्राम कार्ब पाइन्छ । र, यो फाइबरको राम्रो स्रोत पनि हो । ‘भिटामिन–सी’ ‘भिटामिन–बी’ र पोटेसियम पनि भरपुर पाइन्छ । यस्तै, साइट्रिक एसिड र एन्टिअक्सिडेन्ट पनि भरपुर हुन्छ । सुन्तला मिर्गौला र स्टोनको उपचारमा पनि उपयोगी हुन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार