बाजुराको हिमाली गाउँपालिका–६, पाडीका अधिकांश स्थानीय नागरिक रोजगारीका लागि भारतका विभिन्न ठाउँ जाने गरेका छन् । तर ८१ वर्षीय नरजित रावल पैसा कमाउनका लागि कहिल्यै पनि गाउँभन्दा बाहिर जानुपरेको छैन । १३ वर्षको उमेरदेखि ‘अर्गानिक’ मौरीपालन गर्दै आउनुभएका रावलले मौरीपालन गर्न थालेको झन्डै ६८ वर्ष पूरा भएको छ ।
काठेघारमा मौरीपालन गर्दा पनि पैसाका लागि उनी कहिल्यै घरबाहिर निस्कनुपरेको छैन । रावलकहाँ नै पैसा लिएर मह किन्न आउनेको सङ्ख्या ठुलो छ । महका लागि माग गर्नेको नाम र कसले कति पैसा दियो भनेर उनले कपीमा टिपेर राख्छन् । अर्गानिक महका लागि मह काढ्नुभन्दा पहिले नै उनलाई खरिदको प्रस्ताव आउँछ अनि त्यही मह बिक्री गरेर घरखर्च चलाउँछन् । मौरीपालनबाट अहिले वार्षिक १२ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको उनले बताए ।
उनले आफ्ना सबै छोराछोरीलाई मौरीको मह बेचेर नै उच्च शिक्षा पढाएका छन् । आफ्नै बुवाले सुरु गरेको मौरीपालनको तरिका सिकेर सानैदेखि यसमै लागेको उनी बताउँछन् । ‘म १३ वर्षको उमेरमा नै मौरीपालनमा लागेको हुँ । यसबाटै छोराछारीको पढाइखर्च धानेर सम्पत्तिसमेत जोडेको छु ।’ उनको घरमा अहिले मौरीका १०० घार छन् । यी घारबाट उनले वर्षको दुई पटक मह निकाल्छन् । एउटा घारमा छ किलोग्रामसम्म मह उत्पादन हुने उनी बताउँछन् ।
सुरुमा गाउँमा मात्र मह बिक्री हुने भए पनि अहिले विदेशबाट समेत महको माग हुने उनले जानकारी दिए । रावल सुदूरपश्चिम प्रदेशकै एक उत्कृष्ट मौरीपालक पर्छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढीले गत वर्ष सुदूरपश्चिमका सबै मौरीपालकहरूलाई बोलाएको एक कार्यक्रममा रावल प्रदेशकै सबैभन्दा उत्कृष्ट मौरीपालक घोषित भएका थिए । उनलाई अहिले मौरीको घार व्यवस्थापन गर्न निकै सकस भएको छ ।
उनी भन्छन्, ‘मलाई अहिले आधुनिक खालको मौरीको घार चाहिएको थियो । यो पुरानो घार बनाउँदा धेरै पैसा लाग्छ । पहिला वनमा धेरै ठुला ठुला रुख हुन्थे । त्यति बेला घार बनाउन सहज हुन्थ्यो । अहिले वन सामुदायिक भएपछि रुख पनि काट्न मिल्दैन ।’ मौरीको घार राख्नलाई समेत ठाउँको समस्या रहेको उनी बताउँछन् । ‘कतैबाट घार र घार व्यवस्थापनका लागि सहयोग आइदिए म सुदूरपश्चिमको होइन कि देशकै एक उत्कृष्ट मौरीपालक कृषक बन्थेँ र यो मेरो सिप पनि यहाँका धेरै युवालाई सिकाउने थिएँ,’ रावल भन्छन् ।
कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख जसिराम साहनीले मौरीपालक कृषकलाई केही सहयोग गर्ने नीति प्रदेश सरकारको रहेको बताए । ‘अनुदान दिनका लागि हामीले उत्कृष्ट कृषक छनोट गर्नु पर्छ । उहाँ हाम्रो छनोटमा पनि पर्नुभएको छ । यो वर्ष पनि हामी कृषक रावलको मौरीपालन व्यवस्थापन कार्यका लागि केही अनुदानको व्यवस्था मिलाउने तयारीमा छौँ,’ उनले जानकारी दिए ।
सत्यपाटी संवाददाता । बाजुरा