कैलालीको चुरे गाउँपालिकाको सानको रुपमा रहेको राणाकालीन शमशेरगन्ज दरबार भत्किन थालेको छ । संरक्षण नहुँदा कैलालीको चुरे गाउँपालिका–४ मा रहेको शमशेरगन्ज दरबार भत्किन थालेको हो । यस दरबारलाई गर्भा दरबारको नामले पनि चिन्ने गरिन्छ ।
पानी परेपछि दरबारको उत्तरतर्फको मुख्य खम्बासहितको एक ठाउँ भत्केको स्थानीय प्रकाश सापकोटाले बताए । दरबारको छाना नरहेकाले यो बर्खामा लगभग आधाजति दरबार भत्कने सम्भावना रहेको स्थानीय जीवन गुरुङको भनाइ छ ।
उनले थने, ‘छाना छैन, अगाडिको मुख्य बार भत्किसक्यो । मलाई लाग्छ, यो बर्खामा आधा जति दरबार भत्किने खतरा छ ।’ स्थानीयका अनुसार विक्रमसम्वत १९८४ मा जर्नेल बहादुर शमशेर राणाले गर्भामा यो दरबार बनाएका थिए ।
नौ रोपनी जग्गाभित्र बनेको दरबार पछि बहादुरको छोरा तेजप्रकाश राणाको भागमा परेको थियो । ८३ झ्याल र ५३ ढोका भएको तीन तले दरबार तत्कालीन जनयुद्धको बेलादेखि मानव बसोबासविहीन बनेको थियो । त्यसपछि संरक्षण नहुँदा बेवारिसे बनेको शमशेरगन्ज दरबार जीर्ण बन्दै गएको छ ।
यो दरबारको पुरै स्वामित्व पुरातत्व विभागले लिएको छ । चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीका अनुसार १०० वर्ष पुगेको शमशेरगन्ज दरबार अब खण्डहर बनिसकेको छ । २०५२ देखि २०६० बाट दरबार अलि भत्किन सरु गरेको स्थानीयको भनाइ छ ।
अध्यक्ष बोगटीका अनुसार दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट छुट्टयाएको थियो । त्यो बजेटबाट घेरबारका लागि पर्खाल निर्माणको काम भएको जनाइएको छ ।
सत्यपाटी संवाददाता । कैलाली