सूचनाको शक्ति - The Power Of Information

        

आज देशभर एक अर्ब ४० करोड रुपैयाँको दही खपत हुने अनुमान

आज असार १५ गते देशभर ८० लाख लिटर दही खपत हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले आज देशभर ८० लाख लिटर दही खपत हुने र सो बापत करिब एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको जानकारी दिए ।

उनले हरेक वर्षजस्तै यो वर्ष पनि असार १५ को उपलक्ष्यमा दही चिउराको प्रबद्र्धन र खपत बढाउने अभियानमा एसोसिएसन जोडिएको बताए । डेरी एसोसिएसनका अध्यक्ष दाहालका अनुसार असार १५ लाई मानो रोपेर मुरी फलाउने, धान दिवसको रुपमा मनाउने र दही चिउरा खाने दिनको रुपमा पनि मनाउने गरिएको छ ।

उनले भने, ‘असार १५ मा देशभर करीब ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । दही चिउरा खानु हाम्रो संस्कृति हो र यस्ता कार्यक्रमलाई सबैले प्राथमितामा राख्नुपर्छ । किसानले उत्पादन गरेको दूध तथा दुग्ध पदार्थ खपतमा वृद्धि ल्याउन पनि यस्ता खालका कार्यक्रमले सकारात्मक योगदान गर्ने हामीले विश्वास लिएका छौं । ’

असार १५ नेपालको संस्कृतिसँग जोडिएको पर्व भएको भन्दै विशेषगरी दही चिउरा खाएर असार १५ मनाउने हाम्रो मौलिक परम्परा नै बनेको पनि डेरी एसोसिएसनका अध्यक्ष दाहालले बताए । असार १५ मनाउँदा दही चिउराको खपत बढ्ने छ भने हाम्रो संस्कृतिको जगेर्नामा पनि टेवा पुग्ने उनको विश्वास छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतवार १०:५२