सूचनाको शक्ति - The Power Of Information

        

के हो अण्डाशयको क्यान्सर, कसरी बच्ने ?

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर)को सन् २०१९ को रिपोर्टअनुसार अण्डाशय (ओभरी)को क्यान्सर भारतमा महिलाहरूलाई हुने तेस्रो ठूलो प्राणघातक रोग हो । संसारभरमा बर्सेनि करिब पौने २ लाख महिलाको मृत्युको कारण ओभरियन क्यान्सर नै हो ।

धेरै महिलालाई आफूलाई ओभरियन क्यान्सर भएको जानकारी नै हुँदैन । कारण, यसका लक्षण धेरै ढिलो मात्र देखिन थाल्छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार सन् २०१८ मा यसका कारण १ लाख ८४ हजार ७९९ महिलाको मृत्यु भएको थियो ।

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार सन् २०२४ मा हालसम्म अमेरिकामा मात्र अण्डाशयको क्यान्सरका १९ हजार ६८० बिरामी फेला परिसकेका छन् । डब्लूएचओका अनुसार भारतमा ओभरियन क्यान्सरको दर प्रति १ लाखमा ६.८ छ । यो ३५ वर्षदेखि शुरु भएर ५५ देखि ६४ वर्ष उमेर समूहका महिलामा ज्यादा देखिने गरेको छ ।

यी हुन् यसका चार स्टेज

  • स्टेज १ – क्यान्सर एक या दुवै अण्डाशयमा सीमित रहन्छ ।
  • स्टेज २ – क्यान्सर पेल्भिससम्म पुग्छ ।
  • स्टेज ३ – क्यान्सरमा पेटमा फैलिइसकेको हुन्छ ।
  • स्टेज ४ – क्यान्सर पेटबाट शरीरका अन्य अंगमा फैलिइसकेको हुन्छ ।

यस्ता छन् लक्षण

  • पेट फुल्नु
  • खाना खानासाथ पेट भारी भएको महशुस हुनु र भोक कम लाग्नु
  • बारम्बार पिसाब लागिरहनु
  • पाचन प्रणाली खराब हुनु, सधैं कब्जियत भइरहनु
  • साह्रै थकान लागिरहनु र कम्मर दुखिरहनु
  • महिनावारीमा अत्यधिक रक्तश्राव हुनु र दुखाइ पनि ज्यादा हुनु
  • पेल्भिक एरिया र पेटमा दुखाइ र सुन्निने समस्या देखिनु
  • सम्भोगको दौरान असह्य दुखाइ हुनु

यी हुन् कारण

  • ४० वर्षभन्दा माथिको उमेर
  • अण्डाशयमा क्यान्सरको वंशाणुगत हिस्ट्री
  • महिनावारीको दौरान एन्डोमेट्रियोसिसको समस्या हुनु
  • सूर्तिजन्य पदार्थको सेवन र धुम्रपान
  • निसन्तान रहनु
  • हार्मोन थेरोपी लिनु
  • इन्फर्टिलिटीको मेडिकेसनका कारण
  • हार्मोनल बर्थ कन्ट्रोल पिल्स खानु
  • अत्यधिक मोटोपनका कारण

कसरी बच्ने ?

ओभरियन क्यान्सरबाट बच्न महिलाहरूले आफ्नो जीवनशैलीमा ज्यादा ध्यान दिनु जरुरी छ । प्रोटिनबाट भरपूर डाइट लिनुपर्छ । फास्ट फुड र ज्यादा फ्याटवाला खानेकुराबाट टाढै रहनु उचित हुनछ । दैनिक शारीरिक व्यायाम गर्नुपर्छ । सूर्तिजन्य पदार्थ, चुरोट र अल्कोहलबाट टाढा बस्नुपर्छ । महिनावारीको दौरान अत्यधिक रक्तश्राव हुन्छ भने चिकित्सकसँग जाँच गराइहाल्नुपर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १५ असार २०८२, आइतवार ०७:०१