डोल्पाको काइके गाउँपालिका–४ रिवा गाउँमा खहरे खोलाको लेदोले १२ वटा घर पुरिएका छन् । गएराति बस्तीभन्दा माथि रहेका तीन वटा खहरे खोलाबाट लेदो बगेर बस्तीमा पुगेको थियो । बस्तीमा ५० देखि ५३ वटा घर रहेका र एउटा विद्यालयसहित चार वटा घर तथा भवनमा पूर्णरूपमा र अरू आठ वटा घरमा सामान्य क्षति गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काका अनुसार मानवीय तथा पशुचौपायामा क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन । मोटरबाटो खन्दा निस्किएको माटो र ढुङ्गासहितको लेदो बगेर बस्तीमा पसेको हुनसक्ने प्रहरीको अनुमान छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली प्रभावित क्षेत्र रिवा गाउँमा खटिएको छ ।
उद्धार टोलीले स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने र पुनस्र्थापनामा आवश्यक सहयोग गरिरहेको छ । रिवा गाउँ जिल्ला सदरमुकाम दुनै बजारबाट झन्डै ६ देखि ७ घण्टाको पैदल दूरीमा पर्छ । उद्धार टोलीले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने, घरभित्रका सामान निकाल्ने र पुनस्र्थापनामा सहयोग गरिरहेको छ । काइके गाउँपालिकाका अध्यक्ष अंगद कुमार राना पनि प्रभावितहरुका लागि खाद्यान्न र बासको व्यवस्था मिलाउन लागेका छन् ।
पहिरोका कारण अधिकांश घरहरु बस्न नमिल्ने भएका छन् । घरभित्र लेदो पसेकाले स्थानीय बासिन्दा विस्थापित भएका छन् । डीएसपी खड्काका अनुसार पहिरो प्रभावित क्षेत्रमा बर्खाको समयमा मात्रै बग्ने तीनवटा खहरे खोला छन् । माथिबाट पहिरो खस्न सुरु भएपछि ती खोलाहरूमा ठूलो आवाजसहित ढुङ्गामाटो बग्न थालेको थियो ।
यही गडगडाहटको आवाजले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सम्भावित खतराको पूर्वसंकेत दिएको थियो । खतराको संकेत पाउनासाथ स्थानीय बासिन्दाहरू तुरुन्तै घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ भागेका थिए भने उनीहरू घरबाट निस्केको केही समयमै पहिरोले क्षति पुर्याएको खड्काको भनाइ छ ।
वर्षासँगै आएको बाढी घरमा पस्दा एक महिला बेपत्ता
अबिरल वर्षासँगै आएको बाढीले नुवाकोटको ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा एक महिला बेपत्ता भएकी छिन् । बिमचा खोल्सी (कोल्पु खोला)मा आज विहान आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।
उनका अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो । हाल उनको खोजी भइरहेको जनाइएको छ । बाढीका कारका श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएको र उपचारका लागि काठमाडौँ पठाइएको छ ।
बाढीले थप तीन वटा गोठमा पनि क्षति पुर्याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए । बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेको जनाइएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं