राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार बैठक आज साँझ ५ बजे बस्नेछ । बैठकपछि सम्भवत आजै नतिजा प्रकाशन हुने बताइएको छ । उनले भने, ‘केही प्राविधिक विषय मिलाउन बाँकी छ । त्यो मिल्यो भने बोर्ड बैठक बोलाएर आजै नतिजा प्रकाशित हुन्छ ।’
उनले बोर्ड बैठकका लागि अन्य सदस्यहरूलाई खबर गरिसकेको बताए । यस वर्ष शिक्षकहरुको आन्दोलनले उत्तरपुस्तिका जाँचमा ढिलाइ भएको थियो । पछि सरकारले आन्दोलनरत शिक्षकहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उत्तरपुस्तिका जाँच सुरु भएको थियो ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।
सत्यपाटी