हुम्ला भारतको हिमाञ्चल प्रदेशको सिमलामा रोजगारीका लागि बस्दै आएका हुम्लाका एकै परिवारका तीन जना बेपत्ता भएका छन् । अदानचुली गाउँपालिका–६, पाल्सका एक महिला र उनका दुई सन्तान बेपत्ता भएका हुन् । उनीहरू पाँच दिनदेखि बेपत्ता छन् ।
हुम्लाको अदानचुली गाउँपालिका–६, पाल्स गाउँकी २२ वर्षीय मङ्गली लोहार टमाटा र उहाँका दुई छोरा सात वर्षका सौरभ लोहार र तीन वर्षका सुभाष लोहार असार ८ गते आइतबार बिहान ७ः३० बजे डेराबाट सम्पर्कविहीन भएको श्रीमान् मेलेबहादुर लुहारले बताए ।
श्रीमान् मेलेका अनुसार मङ्गली त्यसदिन दुई छोराहरू लिएर एकछिन बाहिर जान्छु भनेर घरबाट निस्केको अहिलेसम्म फर्किकी छैनन् । हालसम्म उनीहरूको अवस्था अज्ञात छ र खोजी कार्य जारी रहेको जनाइएको छ ।
बेपत्ताको खोजीका लागी नेपालमा रहेका मङ्गलीका देवर हर्कलाल लोहारले सबैमा सहयोगको अपिल गरेका छन् । उक्त परिवार सात महिनाअघि रोजगारीका लागि भारत गएको थियो । श्रीमान् लोहार सिमलामै छन् ।
सत्यपाटी संवाददाता । हुम्ला