सूचनाको शक्ति - The Power Of Information

        

खुलेआम कालोबजारी

नेपालगन्जमा ग्राहक ठग्दै ‘डान्सबार’, एक बोतल पानीलाई १०० रुपैयाँ !

मैफियर रेष्टुरेन्ट एण्ड डान्सबारले ग्राहकलाई थमाएको बीलको प्रतिलिपिमा माथि उल्लेखित बील रकम अधिकतम खुद्रा मूल्यभन्दा पाँचदेखि १० गुणासम्म बढी रहेको देखिन्छ ।

साँझपख खाजा नास्ता खाने र रमाइलो गर्ने भन्दै दिपक बिसी (नाम गोप्य राखिएको) ग्राहक केही साथीहरु लिएर नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित मैफियर रेष्टुरेन्ट एण्ड डान्सबारमा छिरे । साथीहरुले आ–आफ्नो रोजाइँ अनुसारको स्न्याक्स् अर्डर गरें, कसैले वियर, कसैले भोड्का लिए, केहीबेर रमाए । केहीबेरको बसाईपछि बाहिरिने भन्दै उनीहरु डान्सबारको काउन्टरमा पुगे, बील मागे । बीलमा अनुमानभन्दा धेरै खर्च देखिएपछि सवालजवाफ भयो ।

सवालजवाफकै क्रममा एक जना हट्टाकट्टा युवती आएर खुरुक्क बील तिर्न भनिन् । दिपकले खानेकुराको दररेट धेरै महंगो भएको भनेपछि केहीबेर भनाभन भयो । डान्सबारकी युवती र दिपकबीचको विवादलाई त्यहाँ खाजा खाइरहेका अरु ग्राहकहरुले पनि नियाल्दै एक अर्कामा कानेखुशी गरिरहेका थिए । बील अनुसारको रकम नतिरे राम्रो नहुने भन्दै डान्सबारकी ती युवतीले घुमाउरो पारामा धम्की दिएपछि अन्नतः दिपक पैसा बील रकम तिरेर निस्किए ।

त्यहाँ ठगिने दिपक एक जना प्रतिनिधि पात्र मात्रै हुन् । मैफियर रेष्टुरेन्ट एण्ड डान्सबारमा जाने जो कोही ग्राहक सधैंजसो ठगिने गरेका छन् । उक्त डान्सबारमा जाँदा जुनसुकै खाजा खाए पनि ग्राहकलाई अधिकतम खुद्रा मूल्यभन्दा पाँचदेखि दश गुणासम्म बढी रकम तिर्न बाध्य बनाइन्छ । ग्राहकले खाजा खाएपछि डान्सबारले बील अनुसारको रकम तिर्न ग्राहक बाध्य हुन्छन् । दिपकले भने, ‘यहाँ अरु डान्सबारकै स्तरको सुविधा पाइन्छ । यो कुनै एक्जुकेटिभ डान्सबार होइन ।’

दिपकले डान्सबारले थमाएको बील अनुसारको रकम तिरेको बताउँदै भने, ‘यो कुनै नाम चलेको डान्सबार पनि होइन । खै किन हो, यो डान्सबारले एक बोतल पानीको मूल्य १०० रुपैयाँ लियो । खाजा खाएर बिल तिर्ने बेला पो थाहा पाएँ । किन पानीमा अधिक मूल्य ?’ तर, उक्त डान्सबारले थमाएको बील तिर्न अस्वीकार गरे ग्राहक आफैं असुरक्षित बन्नुपर्ने अवस्था आउने दिपकले बताए । बजारमा पाइने बोतलको पानी जसलाई हामी ‘मिनरल वाटर’ भन्छौं ।

नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित मैफियर रेष्टुरेन्ट एण्ड डान्सबार ।

‘मिनरल वाटर’को खरिद मूल्य १२ देखि १५ रुपैयाँसम्म मात्र हो । र त्यसलाई ठाउँ हेरेर २० देखि ३० रुपैयाँसम्ममा बेचिन्छ । दिपकले भने, ‘३० रुपैयाँ तिर्दा पनि ग्राहकले शतप्रतिशत बढी रकम तिरिसकेको हुन्छ एक बोतल पानीलाई ।’ पानीको मूल्यलाई आधार मान्ने हो भने एक बोत्तल ‘मिनरल वाटर’को मूल्य कति पर्ला ? २०, २५, ३० रुपैयाँ । शिखर आइस चुरोट, रेडबुल, रक्सीहरुमा वल्ड दरबार, न्यूड भोड्का, टुबोर्ग स्ट्रोङ वियरको मूल्य कति होला ?

अझ चलेका ठूला तारे होटल, रेष्टुरेन्ट तथा डान्सबारमा पाइने अरु सामानको मूल्य कति पर्छ होला ? तपाईंको अनुमानभन्दा निकै बढी हुनसक्छ ? कुनै पनि वस्तुमा यसरी खरिद मूल्यमा सतप्रतिशत नाफा जोडेर बेच्न पाइँदैन । तर यहाँ खुलमखुला असुलीधन्दा चलेको छ । दिपकले भने, ‘यहाँँ सादा पोशाकका प्रहरीसमेत आएर खाजा खाने र उनीहरुकै आडमा डान्सबार सञ्चालकले ग्राहकसँग असुल्दा रहेछन् । प्रहरीकै मिलेमतोमा यसरी असुल्नु राम्रो होइन ।’

मैफियर रेष्टुरेन्ट एण्ड डान्सबारको प्यान नं.६२२८४३८७०, बील नं.२९ मा एक बोत्तल पानीको १०० रुपैयाँ, ९० एमएल वल्ड दरबार रक्सीको ९०० रुपैयाँ, न्यूड भोड्का १८० एमएल (एक क्वाटर)को १४५० रुपैयाँ, फ्रुट स्लाद एक प्लेटको ८०० रुपैयाँ, शिखर आइस चुरोटको ५० रुपैयाँ, एक बोत्तल टुबोर्ग स्ट्रोङ्ग वियरको ९०० रुपैयाँ, एक क्यान रेडबुलको ६०० रुपैयाँ, एक बोत्तल वाइनको ३००० रुपैयाँ र चिकेन विङ्गस् एक प्लेटको ७०० रुपैयाँ असुलिएको छ ।

सत्यपाटीलाई प्राप्त उक्त बीलको प्रतिलिपिमा माथि उल्लेखित बील रकम अधिकतम खुद्रा मूल्यभन्दा पाँचदेखि १० गुणासम्म बढी रहेको देखिन्छ । ‘मिनरल वाटर’कै मात्र कुरा गर्ने हो भने पनि पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई विक्रेताले बिक्री गरेको पाइएपछि तत्काल आवश्यक कारबाही हुनुपर्ने हो । तर, चाडपर्वका बेला पहाडै भत्काउँछु झै गर्ने उपभोक्ता हित संरक्षण मञ्च पनि बेखबर छ ।

मैफियर रेष्टुरेन्ट एण्ड डान्सबारले ११ जेठ २०८० मा ग्राहकलाई दिएको प्यान बील ।

नाममात्रको मञ्चलाई उपभोक्ता ठगिएको कुनै मतलब नै छैन । अझ कारकाँदोमा रहेको उक्त डान्सबार अस्थाई प्रहरी पोष्ट बसपार्क (विद्युत)को कार्यक्षेत्रभित्र पर्छ । प्रहरी प्रशासनलाई यस विषयमा जानकारी गराउँदासमेत ‘बुझ्ने’ भन्दै तर्किनु राम्रो होइन । यहाँँ भर्खरै नयाँ इन्चार्जका रुपमा प्रहरीको लेखा समुहका प्रहरी नायव निरीक्षक (सई) विष्णु शाही आएका छन् । उनी पोष्टको इन्चार्ज भएर आएसँगै यस क्षेत्रमा विकृति मौलाउन थालेको स्थानीयहरु बताउँछन् ।

यहाँँका बसपार्क, पुष्पलाल चौक, कारकाँदो क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट तथा डान्सबारमा खुलमखुला विकृति मौलाउन थालेको स्थानीयहरु बताउँछन् । एक जना स्थानीयले भने, ‘आफैंले तोकेर कमिसन लिएर डान्सबारको ‘लुटधन्दा’लाई प्रहरीले संरक्षण गर्ने भएपछि ग्राहक लुटिनु के नयाँ कुरा भयो र ?’ वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरिक्षक अरुण बमलाई यस विषयमा केही दिनअघि सत्यपाटीले ग्राहक ठगिएको जानकारीसमेत गराएको थियो ।

इन्चार्ज प्रहरी निरिक्षक अरुण बमलाई मोबाइल सम्पर्क गरी जानकारी गराउँदा तत्कालै एक्सन लिने बताएका थिए । उनले भनेका थिए, ‘त्यो क्षेत्र बसपार्क पोष्टले हेर्छ, के रहेछ, बुझ्न लगाउँला ।’ उनले अस्थाई प्रहरी पोष्ट बसपार्कका इन्चार्ज शाहीलाई बुझ्न लगाए की लगाएनन् त्यो उनैले जानुन्, तर त्यहाँ अहिले पनि ग्राहक ठगिरहेका छन् । स्थानीयहरुका अनुसार प्रहरीले आफैं असुली गरिरहँदा कारबाहीबाट पन्छिनुलाई स्वाभाविक मान्न सकिन्छ ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमूख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई कार्यालयको मोवाइल नम्बर ९८५८०२०१८८ मा सम्पर्क गर्न खोज्दा फोन उठेन । स्थानीय प्रशासनसँग यस्ता डान्सबार, रेष्टुरेन्ट वा कालोबजारी गर्ने जो सुकैलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएमा सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम कारबाही गर्ने अधिकार रहेको हुन्छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १२:३९