जबरजस्ती करणीको मुद्दामा सफाइ पाएलगत्तै आरोपीले अनुसन्धान अधिकृतसँगै पार्टी मनाएको विषयमा छानबिन सुरु भएको छ । प्रारम्भिक दृष्टिकोणमै प्रहरीको आचरण विपरितको कार्य भएको देखिएको भन्दै मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको हो ।
प्रमुख डीआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार, छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा तीन सदस्यीय टोलीलाई जिम्मेवारी दिइएको छ । ‘यो टोलीले भोलि सप्तरी पुगेर विस्तृत छानबिन थाल्नेछ, त्यसपछि कमजोरी देखिए कारबाहीका लागि सिफारिस गर्नेछ,’ उनले भने ।
आर्थिक विषयमा छानबिनका लागि भन्दै सप्तरीका एसपी ढकेन्द्र खतिवडा यसअघि नै जिम्मेवारीबाट हटाइएका छन् । त्यसपछि निमित्त प्रमुखको जिम्मेवारीमा रहेका डीएसपी जितेन्द्रकुमार बस्नेत आफैं विवादमा तानिएका छन् । बलात्कारको मुद्दामा सफाइ पाएको दोस्रो दिनमा राजविराज नगरपालिका–६ का आकाश आदर्श अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक मनिष श्रेष्ठसँग देखिएका थिए ।
उनको जन्मदिन भन्दै डीएसपी बस्नेत कोठामा पार्टी आयोजना गरिएको थियो । अनुसन्धान अधिकृतको कोठामा बलात्कार आरोपी भएको भिडियो सार्वजनिक भएपछि प्रहरीको आलोचना भएको थियो । यसपछि प्रहरी प्रधान कार्यालयले समेत चासो देखाएको थियो । यो घटनामा प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिलले २० कात्तिक २०८१ मा अदालतमा मुद्दा दायर गरेको थियो ।
जेठ ४ गते जिल्ला न्यायाधीश रोमनाथ अधिकारीको इजलासले सफाइ दिएको थियो । त्यसको दुई दिनपछि अनुसन्धान अधिकृतसँगै उनी ‘बर्थ डे’ पार्टी मनाइरहेको तस्वीर सार्वजनिक भएको थियो । ‘प्रहरीले मुद्दाको कुनै पक्षसँग अतिरिक्त लाभ वा सामिप्यता देखाउने कुरा सवभाविक होइन, के उद्देश्यले त्यसो गरियो भन्ने विषयमा छानबिन गर्न समितिलाई जिम्मेवारी दिएको छु,’ डीआइजी चर्तुवेदीले भने ।
अझ अदालतमा मुद्दा विचाराधीन नै रहेका बेला त्यस्तो भेटघाट भएको छ भने त्यो झनै अशोभनीय र नीति विपरीत भएकाले विभागीय कारबाही हुने उनले बताए । एक महिनाअघिकै घटना भए पनि हालसम्म यो विषय सार्वजनिक भपछि छानबिन सुरु भएको हो । इन्स्पेक्टर श्रेष्ठको यसअघि नै चितवनमा सरुवा भइसकेको छ ।
सत्यपाटी संवाददाता । राजविराज