सूचनाको शक्ति - The Power Of Information

        

असार तेस्रो हप्ताभित्र एसइई नतिजा

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार तेस्रो हप्ताभित्र प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक समस्या नदेखिएमा असार तेस्रो हप्ताभित्र प्रकाशन हुने गरि काम भइरहेको जनाएको हो ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप–नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले अंक इन्ट्री गर्ने काम लगायत आन्तरिक काम भइरहेको छ । उनले भने, ‘एसइई नतिजा प्रकाशनको काम तीब्र रुपमा भइरहेको छ, यही असार तेस्रो साता (२१–२२) गतेभित्रै) प्रकाशन गर्ने गरि काम गरिरहेका छौँ । प्राविधिक समस्या नआएमा त्यही समयभित्र नतिजा प्रकाशन हुन्छ ।’

२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो । प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो । तर उत्तरपुस्तिका परीक्षण गर्ने बेला चैत २० गतेदेखि नै ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक तथा कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भए ।

आन्दोलन अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले विज्ञप्ति नै जारी गरेर एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षणमा सहभागी नहुन शिक्षकहरूलाई उर्दी जारी गरेपछि उत्तरपुस्तिका परीक्षणको काम रोकिएको थियो । उनीहरूको आन्दोलन २९ दिनसम्म चल्यो । गत वैशाख १७ गते सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमतिपछि भने शिक्षकहरू घर फर्किएका थिए । त्यसपछि बन्द भएका सामुदायिक विद्यालय खुले ।

नयाँ भर्नासँगै पठनपाठन पनि सुरू भयो । रोकिएको एसइई उत्तरपुस्तिका परीक्षण कार्य पनि सुरू भएको थियो । यही शिक्षक आन्दोलनका कारण एसइई नतिजा प्रकाशनमा ढिला भएको हो । परीक्षा बोर्डले परीक्षा सञ्चालन सकिएपछि असार पहिलो हप्तामा नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको थियो । तर, शिक्षक आन्दोलनले उत्तरपुस्तिका परीक्षण कार्य नै ढिलाइ भयो । बोर्डका अनुसार २०८१ को एसइई परीक्षामा करिब पाँच लाख परीक्षार्थीहरू सहभागी छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलवार १४:२७