सूचनाको शक्ति - The Power Of Information

        

इरानी आक्रमणपछि कतारले भन्यो, ‘सफलतापूर्वक विफल’

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जालमा कतारस्थित अमेरिकी अड्डाहरूमा इरानी आक्रमणको निन्दा गरेका छन् ।

उनले भने, ‘हामी यसलाई कतारको सार्वभौमसत्ता, यसको हवाई क्षेत्र, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको बडापत्रको घोर उल्लंघन ठान्छौँ । कतारको हवाई प्रतिरक्षा प्रणालीले आक्रमणलाई सफलतापूर्वक विफल पारेको छ र इरानी क्षेप्यास्त्रहरूलाई रोकेको छ ।’

उनका अनुसार, अल उदेइद एयर बेस पहिले नै खाली गराइएको थियो । उनले यस आक्रमणमा कोही पनि मारिएको वा घाइते नभएको दाबी गरेका छन् । विदेश मन्त्रालयका प्रवक्ताले भने ‘कतारले यसको प्रकृति र प्रभावअनुसार यस स्पष्ट आक्रमणको जवाफ दिने अधिकार सुरक्षित राख्छ ।’

यसअघि कतारमा विस्फोटको आवाज सुनिएको थियो । इरानको समाचार एजेन्सी तस्निमले इरानको रिभोलुसनरी गार्डले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको बताएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलवार ०६:०४