सूचनाको शक्ति - The Power Of Information

        

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती र गण्डकी लगायत देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार ०६:०४