गर्मी बढेसँगै बाँकेमा छाला रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । छाला रोग विशेषज्ञ डा बद्री चापागाईँले गर्मी बढेसँगै भेरी अस्पताल, नेपालगन्जमा छाला रोगका बिरामी आउने क्रम वृद्धि भएको जानकारी दिए । ‘पहिलेभन्दा सङ्ख्यात्मक रूपमा छाला रोगका बिरामी बढिरहेका छन्,’ उनले भने ।
उनका अनुसार बिरामीको काखी, काछ लगायतका स्थानमा दाद आउने समस्या देखिएको छ । डा चापागाईँले ती बिरामी २० देखि ४० वर्ष उमेर समूहका भएको बताए । नेपालगन्ज बाहेक बर्दिया, सुर्खेत, जुम्ला लगायतका जिल्लाबाट छाला रोगका बिरामी भेरी अस्पताल आउने गरेका छन् ।
भारतसँग सीमा जोडिएको नरैनापुरमा छाला रोगका बिरामीको सङ्ख्या झन् वृद्धि भएको नरैनापुर गाउँपालिकाको कटकुइया स्वास्थ्य चौकी प्रमुख दिनेशकुमार मौर्यले जानकारी दिए । उनले दैनिक ४० देखि ६० जनासम्म बिरामीको जाँच हुँदा सबैभन्दा बढी २० देखि २५ जना छाला रोगका बिरामी फेला परेको बताए ।
छाला रोगमा सबैभन्दा बढी दाद, लुतो र छाला चिलाउने समस्या देखिएको उनको भनाइ छ । पिलो आउने, घमौरा लगायतका समस्यासमेत देखिएको छ । ‘हामी नेपाल भारत सीमा क्षेत्रमा छाँै यहाँबाट मानिस भारत जाने आउने गर्छन् र त्यहाँबाट धेरै सङ्क्रमण भएको हुनसक्छ,’ मौर्यले भने । बर्सेनि छाला रोग सम्बन्धी शिविर सञ्चालन भएको र त्यसबाट छाला रोगका बिरामी झन् बढ्दै गएको उनको भनाइ छ ।
लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र, नरैनापुरका जनस्वास्थ्य निरीक्षक नवीन बुढा क्षेत्रीले छाला रोगका बिरामी सबैभन्दा बढी आएको जानकारी दिए । उनले दैनिक जाँच भएका ५० बिरामीमध्ये २० जना छाला रोग सम्बन्धी बिरामी भेटिएको बताए । उमेरका हिसाबले वयस्कदेखि वृद्धसम्ममा छाला रोगका समस्या देखिएको छ ।
सत्यपाटी संवाददाता । बाँके