देशका केही स्थानमा आइतबार (असार ८) भारी वर्षाको सम्भावना छ । यस दिन देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल तथा वर्षा) रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोसी प्रदेशका पहाडी भूभाग, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
‘वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागको धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का वर्षा तथा हिमपातको सम्भावना छ । महाशाखाले आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
‘कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ । राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने हुँदा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं