सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बढ्न थाले झाडापखाला र ज्वरोका बिरामी

मौसम परिवर्तनसँगै बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन, खानपिनमा समस्या, पानीको स्रोत दूषित हुनु, खुला दिसा गर्ने परम्परा, पानी निर्मलीकरण नगरी पिउनु लगायतका कारणले बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्न थालेका हुन् ।

अत्यधिक गर्मीका कारण एक सातादेखि जिल्लाका विभिन्न स्थानमा रहेका अस्पतालमा झाडापखाला, ज्वरो र छालाका बिरामी उपचारका लागि पुग्ने क्रम बढ्दै गएको अस्पतालहरुले जनाएका छन् । भेरी अस्पतालमा आउने झाडापखालाका बिरामीको संख्या बढ्न थालेको अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा.संकेतकुमार रिसालले बताए ।

कहिलेकाहीँ देखिने झाडापखालाका बिरामी हिजोआज दैनिक २० देखि २५ जनामा देखिने गरेको छ । यदि यसलाई सामान्य मान्ने हो भने यसले प्रकोपको रुप लिन सक्ने उनी बताउँछन् । डा.रिसालले अत्याधिक गर्मीकै कारण अधिकांशलाई छाला सम्बन्धी समस्यासँगै प्रेसर घटबढ हुने तथा पखाला र रुघाखोकी एवं ज्वरोसमेत देखिएको बताए ।

यसैगरी सञ्जीवनी मेडिकल साइन्सेस प्रालिको नेपालगन्ज शिक्षण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाइले हाल आएर झाडापखाला र छालाजन्य रोगका बिरामी शिक्षण अस्पतालमा आउने क्रम बढेको बताए । उनले अत्यधिक गर्मीकै कारण बालबालिकामा रातो बिमिरा आउने र पाकेर घाउ बन्ने जस्ता संक्रमण पनि देखिएको जनाए ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जिल्लाको सहरी तथा ग्रामणि क्षेत्रका स्वास्थ्य संस्थामा गर्मीबाट बिरामी परेका बालबालिका, वृद्धवृद्धा र अन्य महिला पुरुष पुग्ने क्रम बढेको जानकारी आएको बताए । ‘बिरामी हुनुको मुख्य कारण फोहर पानी र दूषित खाना हो । पानी उमालेर पिउने र बासी सडेगलेका खानेकुरा खान हुँदैन,’ उनले भने ।

मौसमी सङ्क्रमणबाट जोगिन बिरामीले पानी उमालेर प्रशस्त मात्रामा पिउने, शरीरमा पानी तथा झोलिलो खानेकुरा बढी सेवन गर्ने, आराम गर्ने, र ज्वरो आएको अवस्थामा सिटामोल वा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने सूचना अधिकारी श्रेष्ठले बताए । उपचारका लागि आउने अधिकांशमा मौसमी ज्वरो, रुघाखोकीको समस्या देखिएको छ ।

अस्पतालहरुका अनुसार उपचारमा आउनेमध्ये रुघाखोकी, भाइरल ज्वरो र पखालाका बिरामी अधिकांश हुने गरेका छन् । टाइफाइड खानेपानी र खानाबाट सर्ने भएकाले सफा पानी पिउन र स्वस्थ्यकर खाना खान बिरामीलाई सुझाव दिइएको चिकित्सकहरु बताउँछन् । सहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण भेगमा पनि झाडापखाला, टाइफाइड र ज्वरोका बिरामी बढेका छन् ।

चिकित्सकहरुका अनुसार मौसमी रुघाखोकी लागेका व्यक्तिलाई निको हुन कम्तीमा एक हप्तादेखि दुई हप्तासम्म लाग्न सक्छ । जिल्लाका अन्य मेडिकल तथा निजी क्लिनिकमा पनि भाइरल ज्वरो र झाडापखालाका बिरामीको चाप बढ्दै गएको छ । चिकित्सकहरुले गर्मीयाममा दिउँसो जथाभावी बाहिर नहिँड्न, हिँड्नै परे शरीर छोपिने कपडा लगाउन र पर्याप्त मात्रामा शुद्ध तथा सफा पानी पिउन, आँखालाई संरक्षण हुने चश्मा प्रयोग गर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार १८:००