२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

बर्दियामा हुर्किंदैछन् ११५ वटा घडियालका बच्चा

बर्दिया राष्ट्रिय निकुञ्जले सञ्चालन गरेको गोही प्रजनन केन्द्रमा यस वर्ष हालसम्मकै सबैभन्दा बढी ११५ वटा घडियाल गोहीका बच्चा जन्मिएका छन् । गोही प्रजनन केन्द्रमा रहेका चार वटा पोथी घडियाल गोहीले बच्चा कोरलेका हुन् । विश्वबाट नै लोप हुन थालेको घडियाल गोहीको संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा गोही प्रजनन केन्द्र सञ्चालन छ ।

गोही प्रजनन केन्द्र सञ्चालन भएको ४२ वर्षपछि यस वर्ष सबैभन्दा बढी गोहीका बच्चा जन्मिएका हुन् । गत हप्तादेखि गोहीका बच्चा निस्कन थालेको निकुञ्जले जनाएको छ । प्रजनन केन्द्रमा गत वर्ष ५२ वटा बच्चा जन्मिएका थिए । जसमध्ये ३५ वटा बच्चा बाँचेका छन् । अघिल्लो वर्ष २०८० मा ८० वटा बच्चा जन्मेकोमा ६४ वटा मात्र बाँचेका थिए पनि २०७९ सालमा ६० वटा बच्चा जन्मेकामा ३८ वटा बच्चा बाँचेका थिए ।

हालसम्मको तथ्याङ्क हेर्दा जन्मेका बच्चामध्ये ६० देखि ७० प्रतिशत बच्चा मात्र बाँचेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्तबहादुर मगरले बताए । प्रजनन केन्द्र स्थापना भएको ४२ वर्षमा १७५ वटा गोहीका बच्चा हुर्किएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । प्रजनन केन्द्रमा २० वटा तीन वर्षमाथिका र १३२ वटा तीन वर्षमुनिका बच्चा रहेका छन् ।

यसअघि बर्दियाको बबई नदीमा १३ र बाँकेको राप्ती नदीमा १० गरी जम्मा २३ वटा बच्चालाई प्राकृतिक वासस्थानमा छोडिएको थियो । प्रजनन केन्द्रमा हुर्काएर तीन वर्ष पुगेपछि प्राकृतिक वासस्थानमा घडियाल गोहीका बच्चा छोडिने गरिन्छ । गोही प्रजनन केन्द्रमार्फत जन्मेका बच्चा हुर्काएर प्राकृतिक स्थानमा बाँच्न सक्ने भएपछि नदीमा छोडेर गोहीको सङ्ख्या वृद्धि गर्ने योजना रहेको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोककुमार रामले बताए ।

बर्सातपछि तीन वर्ष पुगेका गोहीका बच्चालाई उनीहरूको अवस्था हेरेर प्राकृतिक वासस्थानमा छाडिने उनले बताए । २०३९ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा २०७२ सालदेखि प्रजनन प्रक्रियाको सुरुवात भएको थियो भने २०७४ सालमा गोहीलाई पहिलो पटक प्राकृतिक वासस्थानमा छाडिएको थियो ।

प्रजनन केन्द्रमा हाल दुई भाले र चार पोथी गरी छ वटा प्रजननयोग्य घडियाल गोही रहेका छन् । घडियाल गोही स्वच्छ पानी र ताजा माछा खाने संरक्षित सूचीमा रहेको जीव हो । गोहीको वासस्थान व्यवस्थापन गर्ने, चोरीसिकार नियन्त्रण गर्ने खालका काम भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । बर्दियाको कर्णाली र बबई नदीमा घडियाल गोही पाइन्छ ।

प्रकाशित मिति : २०८२ असार ७ गते शनिबार