सूचनाको शक्ति - The Power Of Information

        

बढ्यो मनसुनी जोखिम, देशभर भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वर्षाको रेकर्ड बढ्दै जाँदा विभिन्न प्रकारका प्राकृतिक विपत्तिको जोखिम बढेको छ  । शुक्रबारदेखि देशभर मनसुन विस्तार भएको छ  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारसम्म लुम्बिनीमा अड्किएको मनसुन रातभरमा देशभर फैलिएको हो  ।

त्यसैले अबका दिनमा वर्षाको दर बढ्ने भएकाले त्योसँगै विपत्तिको सम्भावना पनि बढेको छ  । केही दिन कहिले रोकिँदै र फेरि पर्दै देशका अधिकांश स्थानमा वर्षा निरन्तर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । नेपाल र छिमेकी देश चीनको सीमा क्षेत्रमा मनसुनले नियमित वर्षा गराइरहेकाले विपत्को जोखिम थप बढाएको छ  ।

चीनको तिब्बत क्षेत्रमा वर्षा भइरहेको र त्यहाँबाट नेपाल आउने नदीमा बहाव उच्च हुने सम्भावना रहेकाले सतर्क रहन विभागले अनुरोध गरेको छ  । छिमेकी चीनको तिब्बत क्षेत्रमा असार ३ गतेदेखि असार ७ गतेसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान गरिएकाले नेपालतर्फ पानीढलो रहेकाले भोटेकोशी र सुनकोशी नदीमा बाढी आउन सक्ने हुँदा ती नदी आसपासका गाउँबासीलाई सतर्क रहन भनिएको मौसमविद् डेबिड ढकालले बताउनुभयो  ।

तिब्बतस्थित प्रहरी कार्यालयले पठाएको सूचना अनुसार भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकासहित दुई नदी आसपासका क्षेत्रमा बाढीपहिरोको जोखिम रहेकाले त्यहाँका बासिन्दालाई सतर्क रहन भनिएको छ  । महाशाखाका अनुसार विगत २४ घण्टामा देशका विभिन्न १२ स्थानमा २०० मिलिमिटरसम्मको वर्षा रेकर्ड भएको छ  ।

पहाडी भूभागमा ५० मिलिमिटरमाथिको लगातार वर्षाले पनि बाढी र पहिरोको जोखिम निम्त्याउने भएकाले सतर्क रहनुपर्ने महाशाखाले जनाएको छ  । यसैबिच बिहीबार रातिदेखि जारी वर्षाका कारण राजधानी काठमाडौँ लगायत देशका विभिन्न स्थानका नदीमा शुक्रबार बाढी आएको छ  । राजधानी काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रका सडक जलमग्न बनेका छन्  । बागमती, धोबीखोला र मनहरा खोलामा बाढी आएको छ  ।

धोबीखोलाको बाढीले नदी आसपासका कोरिडोर डुबानमा पर्दा आवागमनमा अवरोध सिर्जना भएको सुरक्षा निकायले जनाएका छन्  । त्यसैगरी चितवन, नवलपरासी, मकवानपुर, कास्की लगायतका जिल्लाका ठुलासाना नदीमा पनि बहाव बढ्दा डाइभर्सन सडक अवरुद्ध हुन पुगेका छन्  । बाढीपहिरोले देशका विभिन्न स्थानका प्रमुख तथा सहायक मार्ग अवरुद्ध हुन पुगेका थिए  । जसका कारण सार्वजनिक तथा निजी आवागमन प्रभावित हुन पुगेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ  ।

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि भारी वर्षाको पनि सम्भावना रहेकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा जोखिम हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार ०६:३२