यस वर्षको मनसुन आजबाट देशभर फैलिएको छ । गत जेठ १५ गते कोशी प्रदेशबाट भित्रिएको मनसुन २३ औं दिनमा सुदूरपश्चिमसम्म पुगेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असार ६ गते मनसुनी वायु सुदूरपश्चिम प्रदेशसम्म फैलिएको जनाएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो । तर यस वर्ष १५ दिनअघि नै मनसुन नेपाल भित्रिएको थियो । विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । गण्डकी, लुम्बिनी र कर्णालीमा सबैभन्दा बढी प्रभाव पर्ने पूर्वानुमान छ ।
मनसुनका सुरुवाती दिनदेखि नै देशभर बाढीपहिरोले सडक अवरुद्ध हुने लगायतका घटनाहरु भइरहेका छन् । यस वर्षको मनसुनमा २० लाखभन्दा बढी व्यक्ति प्रभावित हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ । नेपालबाट मनसुन बाहिरिने मिति भने अक्टोबर २ तारिख हो ।
सत्यपाटी संवाददाता । काठमाडौं