नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि पद संख्या थप गरेको छ । यसअघि माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थपिएसँगै अब कुल १ हजार ८४२ जनाले प्रहरी जवान बन्ने अवसर पाउने भएका छन् ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै पद थप गरिएको जानकारी दिएको हो । नयाँ थपिएको सहित अब खुलातर्फ ९९३ जनाको माग गरिएको छ ।
यस्तै, समावेशी समूहतर्फ आदिवासी, जनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० तथा अमर अशक्त प्रहरी परिवारका लागि ३७ पदमा भर्ना गरिनेछ । यो पद संख्या थप सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गरिएको सूचनामा उल्लेख छ ।

सत्यपाटी संवाददाता । काठमाडौं