नेपालबाट व्यावसायिक रूपमा पहिलोपटक बाङ्लादेश विद्युत् निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहानदेखि दैनिक ४० मेगावाट हुने गरी विद्युत् निर्यात थालेको हो । भारतीय प्रसारण लाइन हुँदै व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए ।
‘नेपालले तेस्रो मुलुकमा विद्युत् व्यापार सुरु गर्नु ऐतिहासिक उपलब्धि हो,’ खड्काले भने, ‘अब पाँच महिनासम्म निरन्तर निर्यात हुन्छ ।’ वर्षातको समयमा विद्युत् उत्पादन धेरै हुने भएकाले सदुपयोग गर्न बाङ्लादेश निर्यात सुरु गरेको उनले बताए । भारत विद्युत् निर्यात गर्दै आएकोमा बाङ्लादेशमा निर्यात हुनु नेपालका लागि महत्त्वपूर्ण उपलब्धि हो ।
बाङ्लादेश विद्युत् व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड रुपैयाँ बराबर आम्दानी हुने खड्काले जानकारी दिए । दैनिक ४० मेगावाट विद्युत् निर्यात गर्दा मासिक २५ करोड बराबर आम्दानी हुन्छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बाङ्लादेश विद्युत् निर्यात गरेर परीक्षण गरिएको थियो ।
गत वर्षको असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बाङ्लादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै विद्युत् निर्यातको बाटो खुलेको थियो । विद्युत् प्राधिकरणले त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २१.४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बाङ्लादेशबीच गत वर्ष सम्झौता भएको थियो ।
सम्झौता बमोजिम निर्यात हुने विद्युतको बिक्रीदर ६.४० अमेरिकी सेन्ट प्रतियुनिट रहेको छ । विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेसनबाट भारतको मुजफरपुर, बेहरामपुर हँुदै बाङ्लादेशको भेरमारा सबस्टेसनसम्म पुगेको छ । विद्युत् नोभेम्बर १५ सम्म निर्यात हुनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
ऊर्जा क्षेत्रमा निकै दीर्घकालीन महत्त्व राख्ने विद्युत् निर्यातले नेपालको ऊर्जा सन्तुलन, नेपालको जलविद्युत्को अधिकतम उत्पादन र उपयोग तथा देशको अर्थतन्त्र उकास्न योगदान दिने अपेक्षा गरिएको छ । नेपालले भारतलाई पनि करिब एक हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भइसकेको छ । दशकअघिसम्म दैनिक १८ घण्टासम्म लोडसेडिङ सहन बाध्य नेपालले निर्यात गरेर व्यापार घाटा कम गर्न सुरु गरेको छ ।
प्राधिकरणले यस वर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत् निर्यात सुरु गरिसकेको छ । विद्युत् प्राधिकरणले गत आव २०८०–०८१ मा एक अर्ब ९४ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरी १७ अर्ब सात करोड रुपैयाँ आम्दानी गरेको थियो । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो । त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ ।
नेपालले हिउँद याममा भारतबाट विद्युत् आयात गर्छ । आगामी केही वर्ष हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नुपरे पनि निर्यातको परिमाण बढ्दै जाने प्राधिकरणले जनाएको छ । नेपाल र भारतबिचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । प्राधिकरणले चालु आवमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यातको लक्ष्य लिएको छ ।
नेपाल सरकारको ऊर्जा विकास मार्गचित्र–२०८१ को अवधारणाअनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ । प्राधिकरणले भारतमा पनि विद्युत् निर्यात गर्दै आएको छ । जेठ १८ (जुन १) बाट १८५ मेगावाट विद्युत् निर्यात गर्दै आएकोमा १५ मेगावाट बढाएर शनिबारदेखि २०० मेगावाट पुर्याएको छ । नेपाल र भारतबिच भएको द्विपक्षीय सम्झौताबमोजिम यो विद्युत् निर्यातको बिक्रीदर ५.२५ भारतीय रुपैयाँ प्रतियुनिट रहेको छ ।
त्यसैगरी भारतको विहार राज्यमा पनि ८० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । यसबाहेक ढल्केबर–मुजफरपुर ४०० केभी र १३२ केभी प्रसारण लाइनबाट समेत भारतीय बजारमा थप विद्युत् खरिद बिक्रि भइरहेको छ । वर्षायाम लागेसँगै नेपालमा विद्युत्को उत्पादन बढेकाले नेपालको आन्तरिक माग पूरा भएपछि बाँकी रहेको विद्युत् निर्यात गर्न लागिएको हो । सरकारले निर्यातसँगै आन्तरिक विद्युत् खपतलाई भरपर्दो र सुरक्षित बनाउने काम गरिरहेको जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं