अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वितरणमा भ्रष्टाचार गरेको आरोपमा तत्कालिन नरैनापुर गाउँ विकास समितिका अध्यक्षसहित १७ जना विरुद्ध मुद्दा दायर गरेको छ । नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तव, कार्यालयका सचिवद्वय सावितराम कुर्मी, अशोककुमार श्रीवास्तव लगायत १७ जनाविरुद्ध ६ लाख ५६ हजार ७०० रुपैयाँ हिनामिना गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सामाजिक सुरक्षा भत्ता वितरणमा गाविस सचिव र मुखियाको मिलेमतो गरी नियम विपरीत भत्ता वितरण गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान हुँदा साविक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष श्रीवास्तवसमेत १७ जनाको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरणमा हिनामिना गरेको खुल्न आएको अख्तियारको दावी छ ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आर्थिक वर्ष २०५७–०५८ देखि २०७२–०७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जनालाई व्यक्तिलाई नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रुपमा नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रुपमा र भारतमा विवाह गरी गएका महिलालाई एक महिलाको रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको उनीहरूमाथि आरोप छ ।
सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिलाई समेत प्रतिवादी बनाइएको छ । साहजिमा खातुन, अवधराम बढही, रामजिवन पासी, मनोरानी अहिरनी, रामचन्द्र धोबी, लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया, हरिराम अहिर र बारि खाँ, मोति भुजुवा र सन्तराम बडहीलाई प्रतिवादी बनाइ आरोप पत्र दायर भएको हो । उनीहरूविरुद्ध ६ लाख ५६ हजार ७०० रुपैयाँ बिगो, सजाय र कैद माग गरिएको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार साविक नरैनापुर गाविसमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गाविस सचिव र मुखियाले मिलेमतो गरी नियम विपरित भत्ता वितरण एवं लिने/खाने गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुले ६ लाख ५६ हजार ७०० रुपैयाँ हिनामिना गरेको पुष्टि भएकोले उनीहरुविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
साथै, पाटेश्वरी सिंह ठाकुर, मुज्फर खाँ, रामसुमझ कुर्मी, जलील खाँ र रामसेवक कूर्मी समेतको मृत्यु भइसकेको विवरण प्राप्त भएकोले बिगोको हकमा प्रतिवादी तत्कालीन गाविस सचिव सावितराम कुर्मीबाट असुल उपर गर्न मागदाबी समेत लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सत्यपाटी संवाददाता । बाँके