यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । विभागका अनुसार हाल कोशी प्रदेशबाट सुरु भएको मनसुन क्रमशः पश्चिमतर्फ विस्तार हुँदै लुम्बिनी प्रदेशसम्म पुगिसकेको छ ।
मनसुनजन्य सम्भावित जोखिमहरूलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा तयार गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ ।
प्राधिकरणका अनुसार मनसुन अवधिमा बाढी, पहिरो, डुबान, चट्याङजस्ता विपद्का कारण देशभर करिब १९ लाख ९७ हजार बढी जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ । उक्त कार्ययोजना संघीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालालाई सम्प्रेषण गरिएको छ ।
प्राधिकरणले सरदरभन्दा बढी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै केन्द्रदेखि स्थानीय तहसम्मका निकायलाई समयमै तयारीमा जुट्न र मनसुनजन्य विपद् न्यूनीकरण तथा प्रतिकार्यमा गम्भीर भएर जिम्मेवारी वहन गर्न आग्रह गरेको छ ।
मनसुन सुरु भएपछिको ३०, ६०, ९० दिन र बहिर्गमनपछि समेत कार्ययोजनाको प्रभावकारिता मूल्यांकन र समग्र लेखाजोखा गरिने प्राधिकरणले स्पष्ट पारेको छ । साथै, बाढी, डुबान, चट्याङ लगायत आपतकालीन अवस्थाको पूर्वसूचना र चेतावनीप्रति सतर्क रहन र सरकारी निकायहरूले जारी गर्ने आधिकारिक जानकारीको पालना गर्न सबै नागरिकलाई अपिल गरिएको छ ।
