सूचनाको शक्ति - The Power Of Information

        

तराईको गर्मी मौसममा लटरम्म फल्यो सुन्तला

कैलालीमा एकजना कृषकले गर्मी मौसममा पनि लटरम्म सुन्तला फलाएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडका सुनिलराज सापकोटाले घरको आँगनमा सुन्तला फलाएका हुन् ।

घरको आँगनको डिलमा लगाएको सुन्तला फलेको देखेर बाटोमा हिँड्ने मानिससमेत तराईमा सुन्तला फलेको पहिलो चोटी देखेको प्रतिक्रिया दिने गरेका छन् । चार बर्ष पहिला धनगढीको एक नर्सरीबाट सुन्तलाको बोट किनेर लगाएको सापकोटाले बताए ।

लगाएको तेस्रो बर्षबाट फल्न सुरु भएको उनले जानकारी दिए । उनले भने, ‘गत बर्षबाट फल्न सुरु गरेको हो । गत बर्ष ३० दाना लागेको थियो । अहिले त बाक्लै फलेको छ ।’ ग्रामीण विकास विषयका प्राध्यापकसमेत रहेका सापकोटाले नागपुरी जातको सुन्तला तराईको हावापानीमा पनि फल्ने अध्ययन ले देखाएपछि आफूले विचार गर्न थोरै बोट लगाएको बताए ।

उनले दाना पनि ठुलो र खाँदा पनि स्वादिलो भएकाले भविष्यमा व्यावसायिक खेती गर्ने योजना सुनाए । अहिले सापकोटाले १० कट्ठा घरनजिकैको जमिनमा व्यावसायिक फलफूल खेती गरेका छन् । उनले आँप, अम्बा, कागती, लिची, स्याउ, सिउडी फल लगायतका फलफूलका विरुवा लगाएका छन् ।

कृषक सापकोटाले अध्यापनको समयबाहेको खाली समयलाई कृषि कर्ममा बिताउने गरेको बताए । उनले दुई बर्ष पहिले व्यवसायी च्याउ खेतीसमेत गरेका थिए । सापकोटाले भने, ‘कन्य र गोब्रे च्याउ खेती गरेको थिएँ । उत्पादन राम्रो पनि भयो । तर बजारीकरणको समस्याले उत्पादनमा उत्साह भएन । त्यसलाई पनि निरन्तरता दिने सोचमा छु ।’

प्रकाशित मिति : १ असार २०८२, आइतवार १४:३८