२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

अमेरिकामा महिला सांसद र उनका श्रीमानको गोली हानी हत्या

मिनेसोटाका डेमोक्रेटिक सांसदलाई उनको घरमा गोली हानी हत्या गरिएको छ । शनिबार डेमोक्रेटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको गोली हानी हत्या भएको हो । प्रहरीले आक्रमणकारी संदिग्ध अझै फरार रहेको बताएको छ ।

उनी बन्दुकधारी प्रहरीको पोशाकमा आएका थिए । आक्रमणकारीसँग एउटा टेजर (बन्दुक जस्तो उपकरण) पनि थियो । संदिग्धसँग एउटा कार पनि थियो, जुन प्रहरीले जफत गरेको छ । यस्तै, शनिबार नै डेमोक्रेटिक स्टेट सिनेटर जोन हफम्यान र उनकी श्रीमती यभेटलाई गोली हानिएको छ । दुवै घाइते छन् ।

दुवैको शल्यक्रिया गरिएको छ र डाक्टरहरूले उनीहरू बाँच्ने अपेक्षा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरीले आक्रमणमा परेका दुई सांसदहरू एकअर्काबाट करिब १२ किलोमिटर टाढा रहेको च्याम्पलिन र ब्रुकलिन पार्कमा बसोबास गरिरहेको बताएको छ । सिनेटर हफम्यान र उनकी श्रीमती यभेट च्याम्पलिनमा बस्छन् ।

हफम्यानलाई कम्तिमा दुई पटक र यभेटलाई तीन पटक गोली लागेको थियो । यो जोडी आफ्नी छोरी होपसँग बस्छन् । यद्यपि, घटनाको समयमा उनी घरमा थिइन् कि थिइनन् भन्ने कुरा रिपोर्ट गरिएको छैन । मिनेसोटाका गभर्नर टिम वाल्जले घटनाको बारेमा भने, ‘दुवै सांसदमाथि भएको आक्रमण राजनीतिक रूपमा प्रेरित देखिन्छ । मेलिसा एक महान जनसेवक थिइन् । उनको स्थान कसैले लिन सक्दैन ।’

प्रकाशित मिति : २०८२ असार १ गते आइतबार