कोहलपुर नगरपालिका वडा नं १ का ८६ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । वर्षौँदेखि बसोबास गर्दै आएका कोहलपुर १ का ८६ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिए ।
‘हामी धमाधम काम गरेर अव्यवस्थित बसोवासी तथा सुकुम्वासी जनतालाई जग्गाको धनी बनाउन लागिपरेका छौँ,’ अध्यक्ष खनालले भने, ‘हामीले पाएको जिम्मेवारी अनुसार जनताको आशा र अपेक्षा पूरा गर्न लागेका छौं ।’ कोहलपुर–१ का थप ७७४ अव्यवस्थित बसोवासीलाई असार ५ गतेबाट लालपुर्जा वितरण गर्नेगरी काम भइरहेको आयोगले जनाएको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले भूमि सम्बन्धी समस्या समाधानमा आवश्यक सहयोग र समन्वयका लागि नगरपालिका सधैँ तत्पर रहेको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले आयोगको काममा स्थानीय तह, जनप्रतिनिधि र राजनीतिक दलहरूले समेत जिम्मेवारपूर्ण तरिकाले सघाउनुपर्नेमा जोड दिए ।
आयोगले हालसम्म बाँकेको कोहलपुर नगरपालिका–१ मा ११७ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसकेको छ । बाँकेको कोहलपुर, बैजनाथ, खजुरा, जानकी, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा भूमि सम्बन्धी समस्या समाधानका लागि प्रक्रियागत तवरले काम भइरहेको अध्यक्ष खनालले बताए । उनले सानातिना विवादमा नअल्झिएर फिल्डमा खटिएका प्राविधिकलाई आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरे ।
सत्यपाटी संवाददाता । बाँके