भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल केदारनाथ नजिकै आइतबार बिहान हेलिकप्टर दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यम न्यूज १८ का अनुसार दुर्घटना गौरीकुण्ड र त्रिजुगीनारायण नारायणको बिचमा भएको हो ।
आर्यन कम्पनीको उक्त हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए । प्राप्त जानकारी अनुसार दुर्घटनामा सातै जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बच्चा पनि छन् । हेलिकप्टर दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ ।
यसैबिच, यस दुर्घटनाको बारेमा जानकारी दिँदै उत्तराखण्डका एडीजी कानुन तथा व्यवस्था डा. वी मुरुगेसनले देहरादूनबाट केदारनाथ जाँदै गरेको हेलिकप्टर गौरीकुण्ड क्षेत्रमा सम्पर्कविहीन भएको र त्यसपछि दुर्घटनाको पुष्टि भएको बताएका छन् ।
गौरीकुण्डबाट केदारनाथका लागि तीर्थयात्री लिएर उडेको हेलिकप्टर खराब मौसमका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान छ । भारतीय सञ्चारमाध्यमका अनुसार, आर्यन एभिएसन कम्पनीको हेलिकप्टर गौरीकुण्डको जंगलमा खसेको थियो ।
दुर्घटनाको खबर पाउनासाथ उद्धार टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको छ । केदारनाथ क्षेत्रमा पछिल्ला केही दिनयता मौसम खराब रहेको बताइएको छ । सोही कारण उडान जोखिमपूर्ण बनेको र दुर्घटना भएको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन् ।
सत्यपाटी संवाददाता । नयाँदिल्ली