सूचनाको शक्ति - The Power Of Information

        

स्वयंसेवी निःशुल्क रगतमा चर्को शुल्क तिर्नुपर्ने बाध्यता

बिरामीलाई बचाउनका लागि स्वयंसेवी रक्तदाताले निःशुल्क रूपमा रक्तदान गर्ने गर्दछन् तर त्यो रगतलाई विभिन्न शीर्षकमा शुल्क तिर्नुपर्ने बाध्यता छ । हाल नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाले रगतको व्यवस्थापन गर्ने गर्दछ । एक जना रक्तदाताबाट निःशुल्क लिएको रगतबाट तीन–चार रक्ततत्व उत्पादन गरेर रक्ततत्व अनुसार शुल्क असुल गरिरहेको आरोप स्वयंसेवी रक्तदाताको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्तदाताले मानवताको नाताले निःशुल्क उपलब्ध गराएको रगतलाई विभिन्न रक्ततत्व उत्पादन गरेर रक्ततत्व अनुसार छुट्टाछुट्टै रकम असुल गर्ने गरेको आरोप लगाए । उनका अनुसार रक्तदाताबाट निःशुल्क लिएको रगत होलब्लड, प्लेटेलेट्स, प्लाज्मा र क्रियोप्लेट जस्ता कम्पोनेन्ट (रक्ततत्व) उत्पादन गरेर छुट्टाछुट्टै रकम लिइने गरेको छ ।

‘एक जनाको रगत लिएर चार ठाउँबाट रकम असुल गर्ने धन्दा अन्त्य हुनुपर्छ,’ रक्तदाता समाजका अध्यक्ष कर्माचार्यले भने, ‘रगतमा सिधै लुट हुनबाट राज्यले जोगाउनु पर्छ ।’ यता नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले रगतमा विभिन्न शीर्षकमा शुल्क लिनुपर्ने बाध्यता भएको बताए ।

‘रगतको परीक्षण लगायत प्रशासनिक खर्चका लागि उक्त रकम लिइएको हो,’ निर्देशक गुप्ताले भने, ‘यदि सरकारले सम्पूर्ण रूपमा रगत निःशुल्क गर्दछ भने रेडक्रसले निःशुल्क रगत वितरण गर्नेछ ।’ निर्देशक गुप्ताले हाल गण्डकी प्रदेश र बागमती प्रदेशले रगत निःशुल्क गरेको जानकारी दिँदै सरकारले रगतको शोधभर्ना गर्ने हो भने बिरामीले रगत निःशुल्क रूपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

निर्देशक गुप्ताले गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशभरका जुनसुकै अस्पतालमा गए पनि रगत निःशुल्क उपलब्ध गराएको जानकारी दिँदै पछि उक्त रगतको शोधभर्ना गर्ने गरेको बताए । उनले नेपाल रेडक्रस सोसाइटीले सरकारले तोकेको मूल्यभन्दा एक पैसा बढी शुल्क नलिएको दाबी गरे । बागमती प्रदेशले भने प्रदेशका १३ वटा अस्पतालमा उपचार गराउने बिरामीको निःशुल्क रगत प्रदान गर्ने गरेको छ ।

बागमतीले कान्ति बालअस्पताल, वीर अस्पताल, भरतपुर अस्पताल, भक्तपुर अस्पताल, हेटौँडा अस्पताल लगायतमा भर्ना भएका बिरामीको रगत शोधभर्ना गर्ने गरेको छ । ती अस्पतालमा निःशुल्क रगत पाउनलाई बागमती प्रदेशको नागरिकता भने हुनुपर्छ । नेपाल रेडक्रस सोसाइटीले नेपालमा एक वर्षमा दुई लाख ९४ हजार युनिट रगत सङ्कलन गर्ने गरेको छ ।

केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक गुप्ताका अनुसार अन्य देशभन्दा नेपालको रगत अत्यन्तै सुरक्षित रहेको छ । कतिपय देशमा दुई प्रतिशतमा एचआइभी देखिने गरेको तर नेपालमा एचआइभी ०.०१४ प्रतिशत रहेको छ । हेपाटाइटिस बी ०.३ प्रतिशत, हेपाटाइटिस सी ०.२९ प्रतिशत रहेको गुप्ता बताउँछन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतवार ०६:५८