अहमदाबादको बीजे मेडिकल कलेजको आवासीय होस्टलको वातावरण बिहीवार अपराह्नसम्म निकै शान्त थियो । विद्यार्थीहरू मध्यान्नको खानासँगै हाँसो, ठट्टा र पढाइबारे छलफल गरिरहेका थिए । दिउँसो १ः३९ बजेसम्म खाना खाने ठाउँमा ३५ जना मानिसहरू थिए । कोही खाना खाँदै थिए, कोही खाएर आराम गरिरहेका थिए र बाँकी खाना लिने लाइनमा थिए । विद्यार्थीसँगै यहाँ चिकित्सक र केही उनीहरूका परिवारका सदस्य पनि थिए ।
त्यहीबेला अचानक सबै कुरा बदलियो । क्यान्टिनको सामान्य होहल्ला नजिक आउँदै गरेको जेट इन्जिनको आवाजमा बिलायो, अनि हलमा विस्फोट भयो । त्यहाँबाट १.५ किलोमिटर परको धावनमार्गबाट एक मिनटभन्दा कम समय अगाडी मात्रै विमान उडेको थियो । लण्डनका लागि २४२ जना बोकेर उडेको एअर इन्डियाको ७८७ ड्रिमलाइनर विमान धावनमार्ग छोडेको केही सेकेन्डमै समस्यामा पर्यो र डाक्टरहरूको होस्टलको छानोमा बज्रियो । विमान खसेलगत्तै आकाशमा आगोको लप्को देखियो र विमानमा सवार एकजना बाहेक सबैले ज्यान गुमाए ।
आफ्ना साथीहरूसँगै होस्टलमा रहेका विद्यार्थीहरू अनि केही प्रत्यक्षदर्शीहरूका अनुसार जमिनमा रहेका मानिसहरूले केहीबेरसम्म पनि के भयो भन्ने थाहा पाउन सकिरहेका थिएनन् । कलेजको मिर्गौला विभागमा काम गर्ने एक जना डाक्टरका अनुसार उनी र उनका सहकर्मीहरू विमान खसेको भन्दा ५०० मिटर मात्रै टाढा थिए । बाहिरपट्टि उनीहरूले कानै थुनिने आवाज सुने । ‘हामीले सुरुमा चट्याङ परेको ठान्यौँ तर ४० डिग्री सेल्सिअसको तापक्रममा त्यो सम्भावना छ ? फेरी सोच्यौँ,’ उनले भने । त्यसपछि उनीहरू बाहिर दौडिए । बाहिर केही मानिसहरू चिच्याइरहेका थिए, ‘यता हेर, यता आऊ, हाम्रो घरमा विमान झर्यो ।’

बीजे मेडिकल कलेजको क्यान्टिनमा विद्यार्थीहरुले खाँदे गरेको खानाका थालीहरु ।
त्यसपछिको केही मिनट सबै कुरा अत्यासमय भयो । मानिसहरू त्यहाँबाट भाग्न र के भएको थाहा पाउन दौडादौड गरे । क्रिकेट खेल्न बाइकमा जाँदै गरेका प्रिन्स र कृष पटनी दाजुभाइ हुन् जसले होस्टलनजिकै पुग्दा ठूलो आवाज सुने । ‘केही सेकेन्डमै हामीले विमानको पखेटा जस्तो केही देख्यौँ,’ १८ वर्षीय प्रिन्सले सुनाए, ‘हामी त्यसतर्फ दौडियौँ तर विस्फोटको रापका कारण होस्टलभित्र जान सकेनौँ । त्यहाँ धेरै भग्नावशेष थुप्रिएको थियो ।’ ती दाजुभाइसँगै त्यहाँ जम्मा भएका केही स्थानीय स्वयंसेवकहरू भवनभित्र प्रवेश गर्न राप केही कम हुन्जेलसम्म पर्खिए ।
प्रहरीसँग मिलेर उनीहरूले भवनको प्रवेशद्वारमा जम्मा भएको भग्नावशेष हटाउन सघाए । जब उनीहरू क्यान्टिनमा पुगे त्यहाँ कसैलाई पनि देख्न र चिन्न सकिने अवस्था थिएन । कालो धुवाँको बाक्लो मुस्लोले पुरै कोठा ढाकिएको थियो । हावमा धातु डढेको गन्ध फैलिएको थियो । स्वयंसेवकहरूसँगै आफूहरू पनि त्यहाँ रहेका ग्याँसका सिलिन्डरहरू हटाएर थप दुर्घटना कम गर्नतर्फ लागेको दाजु कृष सुनाउँछन् । भग्नावशेष हटाउँदै जाने क्रममा स्वयंसेवकहरूसामु सुटकेसको थुप्रो देखा पर्यो । त्यो पनि हटाएपछि उनीहरूले जे देखे त्यो मन कुँडिने दृश्य थियो ।
उनीहरूसामु कोही हातमा खानाको प्लेट लिएका, कोही चम्चा समातेका र कोही पानीको ग्लास लिएका मानिसहरू लडिरहेका थिए । जसमध्ये अधिकांश जीवितै भए पनि नराम्ररी चोट लागेको अवस्थामा थिए । केही क्षण अघिसम्म सामान्य अवस्थामा रहेका उनीहरू स्तब्ध र मौन थिए । वरिपरि विमानका उछिट्टिएका धातुका टुक्राहरूबाट उनीहरू घेरिएका थिए । ‘उनीहरूले चिच्याउने मौका पनि पाएनन्,’ नजिकैको अर्को भवनमा रहेका एक जना डाक्टरले सुनाए । दोस्रो वर्ष पढिरहेका होस्टलमा बस्ने उनी त्यहाँ ज्यान जोगाउन सफलमध्येका एक हुन् ।
उनी आफू सधैँजसो बस्ने गरेको कुनापट्टिको ठूलो टेबलमा अरू नौ जनासँग बसिरहेका थिए । त्यही बेला विमान खस्यो । ‘त्यहाँ ठूलो विस्फोटको आवाज आयो र मानिसहरू चिच्याएको सुनियो । हामीमाथि ठूलो ढुङ्गा बज्रिएजस्तो भयो तर त्यहाँबाट कतै निस्किने ठाउँ थिएन,’ उनले सुनाए, ‘विमानबाट निस्किएको आगो र धुवाँ हाम्रो अनुहारको नजिकसम्म आइरहेको थियो र सास फेर्न कठिन भइरहेको थियो ।’ उनको पनि छातीमा गम्भीर चोट लागेको छ र हाल उपचार गराइरहेका छन् ।

बीजे मेडिकल कलेजको क्यान्टिनको पुरानो तस्बिर (माथि) र एअर इन्डिया दुर्घटनापछि क्षतिग्रस्त हल (तल)
उनका साथीहरूलाई के भयो भन्ने उनलाई केही थाहा छैन । धेरै जना प्रत्यक्षदर्शीका अनुसार उक्त भवनको छानो सबैभन्दा पहिले विमानको बडेमाको पखेटाले छेडेको थियो अनि त्यसमाथि विमानको मुख्य भाग पनि बज्रियो । सबैभन्दा नराम्रो क्षति पखेटाले पुर्याएको थियो । अत्यासबीच विद्यार्थीहरू भवनको दोस्रो र तेस्रो तल्ला माथिबाट हामफाल्न थाले । उनीहरूका अनुसार भवनको एउटै मात्र भर्याङ भग्नावशेषका कारण टालिएको थियो । जमिनमा रहेका कतिजना मानिसहरूले ज्यान गुमाए भन्ने अझैसम्म प्रस्ट छैन ।
बीजे मेडिकल कलेज तथा सिभिल अस्पतालकी डीन डा मीनाक्षी पारिखले आफ्ना चार जना विद्यार्थी र चार जना विद्यार्थीका आफन्तको ज्यान गएको बीबीसीलाई बताइन् । तर ज्यान गुमाउने ठ्याक्कै कति जना छन् र को–को हुन् भन्ने विवरण आउन अझै केही दिन लाग्न सक्छ । भग्नावशेषबाट निकालिएका शवहरूको पहिचानका लागि डीएनए परीक्षणको भर पर्नुपर्ने अवस्था छ । त्यसबेला ज्यान गुमाउने मानिसहरू क्यान्टिनमा रहेका मात्रै थिएनन् । त्यहाँबाट केही किलोमिटर पर थिए रवि ठाकुर ।
होस्टलको भान्सामा काम गर्ने उनी सहरका अरू होस्टलमा खाना पु¥याउन गएका थिए । उनकी श्रीमती र दुई वर्षकी छोरी सधैँजस्तै होस्टलमै थिए । खबर सुन्ने बित्तिकै उनी फर्किएर आइपुग्दा त्यहाँ अत्यासको वातावरण थियो । उनी ४५ मिनटपछि आइपुग्दा त्यो ठाउँ स्थानीय मानिसहरू, अग्नि नियन्त्रक, एम्बुलेन्सका कामदार र एअर इन्डियाका कर्मचारीहरूले भरिएको थियो ।
त्यहाँ उनले आफ्नी श्रीमती र छोरीको खोजी गरे र भेट्टाउन सकेनन् । अस्पतालको मुख्य भवनमा रहेका अध्यापकहरू त्यहाँको अत्यास अझै पत्याउन सकिरहेका थिएनन् । ‘म ती विद्यार्थीहरूलाई पढाउँथेँ र प्रत्येकलाई व्यक्तिगत रूपमा पनि जान्दथेँ । घाइते विद्यार्थीहरूको अझै अस्पतालमा उपचार भइरहेको छ । अहिले हाम्रो प्राथमिकतामा उनीहरू छन्,’ क्याम्पसका एक जना प्राध्यापकले भने । उता रवि ठाकुर अझै आफ्ना प्रियजनको खोजीमा छन् । तर उनको आशा मर्दै गइरहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं