नेपालगन्जस्थित भेरी अस्पतालमा आगामी असार महिनादेखि एमडी पढाइ सुरु हुने भएको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.निराजन सुवेदीले असार दोस्रो सातादेखि मेडिसिन, सर्जरी, गाईनोक्लोजिष्ट र अर्थोपेडिक विभागमा एमडी पढाइ सुरु हुन लागेको जानकारी दिए ।
मेडिसिन र सर्जरीमा दुई–दुई जना तथा गाइने र अर्थोमा एक–एक जना विद्यार्थीले एमडी अध्ययन सुरु गर्नेछन् । पश्चिम नेपालको रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पतालमा एमडी–एमएस पढाइका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र भेरी अस्पतालबीच यसअघि नै सम्झौता भएर फ्याकेल्टी समेत निर्धारण भइसकेको थियो ।
एमडी–एमएस विषयको अध्ययन सुरु भएपछि भेरी अस्पतालको सेवा प्रवाह अझ राम्रो हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.सुवेदीले बताए । उनले भने, ‘अस्पतालमा अब उपचार सेवासँगै शैक्षिक गतिविधि पनि बढ्ने भएकाले स्वाभाविक रूपले यसको स्तर ह्वात्तै माथि उठ्नेछ ।’
भेरी अस्पतालमा मेडिसिन, सर्जरी, अर्थोपेडिक, गाइनोक्लोजिष्ट, पिडियाट्रिक, एनेस्थोलोजिष्ट, रेडियोलोजी, इएनटी र एमडिजिपीमा एमडी–एमएस विषयको पढाइ सञ्चालन गर्ने प्रस्ताव धेरै अघि गरिएको थियो । अस्पतालका अनुसार वर्षौँ अघिदेखि एमडी र एमएस विषयको पढाइ सञ्चालन गर्ने प्रयास भए पनि सार्थकता पाउन सकेको थिएन ।
तर अहिले भने चार वटा विषयको पढाइ सञ्चालन गर्न न्याम्सले ६ जना विद्यार्थी भेरीमा पठाउन लागेको छ । यो पढाई सञ्चालनमा आएपछि भेरी अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आङ्गिक अस्पतालका रुपमा रहनेछ । सङ्घीय सरकारको मातहतमा रहेको अस्पतालमा साविक मध्य र सुदूरपश्चिम क्षेत्रका २४ जिल्लाका बिरामी उपचारका लागि आउँछन् ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एमडी–एमएस विषयको पढाइ सञ्चालन हुने भएपछि भेरी अस्पतालको उचाइ थप वृद्धि हुने बताए । अस्पताल विकास समितिका सदस्य डा.डक्टप्रसाद धितालले अस्पतालमा नयाँ नयाँ विशेषज्ञ सेवा सुरु गरिएसँगै एमडी–एमएस विषयको पढाइ सुरु हुन लागेको र सरकारले १७९ जना जनशक्ति थप्ने निर्णय गरेकोमा अब यो अस्पताल यस क्षेत्रकै उत्कृष्ट अस्पताल बन्ने बताए ।
सत्यपाटी