२०८२ माघ २६ , सोमबार 9, February 2026, Monday

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर

सत्यपाटीसत्यपाटी । जाजरकोट । २०८२ जेठ ३१ गते शनिबार
सुयाडामा निर्माणको अन्तिम चरणमा रहेका मन्दिर ।

मध्यपहाडी लोकमार्गसँग बिचमै रहेको जाजरकोट र दैलेखको सिमाना सुयाडामा मन्दिर निर्माण चलिरहेको छ । जाजरकोटको छेडागाड नगरपालिका–२, सुयाडा लेकमा नगरपालिका र प्रदेश सरकारको डिभिजन वन कार्यालयले अलग–अलग ठाउँमा मन्दिर बनाउन लागेका हुन् ।

डिभिजन वनले थालेको मन्दिर निर्माण कार्य सम्पन्न भइसकेको छ भने नगरपालिकाले निर्माण गर्न लागेको मन्दिरको काम भने जारी रहेको छ । डिभिजन वन कार्यालयले ८० लाख लागतमा मन्दिर बनाएको छ । उता नगरपालिकाले भने काम निरन्तर जारी राखेको छ ।

एकै ठाउँमा १० मिटरको दुरीमा डिभिजन वनले चार वटा र नगरपालिकाले चार वटा मन्दिर बनाएका हुन् । मालिका मन्दिर सुयाडा जङ्गलको बिचमा रहेको छ । सानो देवीको थानलाई विकास गरेर अहिले यहाँ ठुलो मन्दिरको डाँडो बनाउन लागिएको छ ।

पूर्वमा जाजरकोट र पश्चिममा दैलेखको भगवतीमाई पर्दछ । मध्यपहाडी लोकमार्ग यही मन्दिरको छेउ भएर जाने भएकाले दैनिक मन्दिर दर्शन गर्न आउनेको सङ्ख्या धेरै रहेको छ । नगरपालिकाले ८५ लाखभनदा बढीको लागतमा मन्दिर निर्माण गरिरहेको छ ।

डिभिजन वन कार्यालय र नगरपालिकाले एकै ठाउँमा मन्दिर बनाउन स्थानीयले आग्रह गरे पनि अलग ठाउँमा बनाउँदा बजेट मात्र नोक्सान भएको स्थानीयको आरोप छ । तर छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमकुमार ढकालले आवश्यकताका आधारमा मन्दिर निर्माण गरेको दाबी गरे ।

उनले प्युठानको स्वर्गद्वारी मन्दिरको डिजाइनमा महायज्ञ लगाउने योजनाले मन्दिर निर्माण गर्न लागेको बताए । ‘बजेट सक्न हामीले मन्दिर बनाउन खोजेको होइन,’ उनले भने, ‘आवश्यकताका आधारमा प्युठानको स्वर्गद्वारी शैलीमा महायज्ञ लगाउन मिल्ने गरी मन्दिर बनाउन लगाएका हौँ ।’ उनले स्थानीयले बजेट सक्न मन्दिर बनाउन लगाएको आरोप व्यक्तिगत भएको टिप्पणी गरे ।

प्रकाशित मिति : २०८२ जेठ ३१ गते शनिबार