२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday

बाढी र डुबानबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने अनुमान

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ जेठ ३१ गते शनिबार
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागि सरोकारवालाहरु ।

बाँकेमा यस वर्ष १५ हजार परिवार बाढीजन्य प्रकोपबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ । सोबाट स्थानीयलाई जोगाउन मनसुन पूर्वतयारी योजना २०८२ तयार पारिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अनुमोदन गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२’ र ‘मनसुन पूर्वतयारी योजना २०८२’ मा सो पूर्वानुमान गरिएको जनाउँदै त्यसबाट सर्वसाधारणलाई जोगाउन पूर्वतयारीलाई तीव्र पारिएको विपद् व्यवस्थापन समिति, बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए ।

उनले मनसुन नजिकै रहेकाले जिल्लाका आठवटै स्थानीय तहलाई विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर कार्यान्वयन गर्न आग्रह गरिएको बताए । बाढी, डुबान, गर्मी, तातो हावा ‘लु’ र आगलागी जस्ता विपदबाट यस वर्ष जिल्लामा २५ हजार घरपरिवारका एक लाख ५० हजार मानिसहरू प्रभावित हुने पूर्वानुमान गर्दै विपद् पूर्व तयारीलाई तीव्र पारिएको समितिले जनाएको छ ।

अहिले तातो हावा ‘लु’ चलिरहेको, गर्मी अत्यधिक रहेको तथा मनसुन पनि नजिकै रहेकाले विपद् पूर्व तयारी लगायतका सम्बन्धमा विभिन्न निर्णय गर्न बैठकको आयोजना गरिएको जिल्ला आपतकालीन सञ्चालन केन्द्रका फोकल पर्सन रुपन ज्ञवालीले बताए । उनले प्रमुख जिल्ला अधिकारी जोशीको अध्यक्षतमा आठै स्थानीय तहका जनप्रतिनिधि लगायत सरोकारवाला सम्मिलित बैठकले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ लाई कार्यान्वयन गर्ने निर्णय गरेको बताए ।

साथै, सो योजनाका आधारमा विपद् पूर्वतयारी र प्रतिकार्यका गतिविधिलाई तीव्र पार्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको फोकल पर्सन ज्ञवालीले बताए । बैठकले स्थानीय तहलाई विपद्विरुद्ध पूर्व तयारीमा राख्न सबै स्थानीय तहहरूले अविलम्ब आ–आफ्नो विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्ने निर्णय पनि गरेको छ ।

मनसुनजन्य विपदका घटनाहरूमा प्रभावकारी प्रतिकार्यका लागि योजनाहरूको परीक्षण तथा स्रोत साधन र जनशक्ति परीक्षण तथा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन विभिन्न ठाउँमा बाढीजन्य विपद्सँग सम्बन्धित कृत्रिम घटना अभ्यास गर्ने निर्णय पनि बैठकले गरेको छ ।

जिल्ला आपतकालीन सञ्चालन केन्द्र तथा स्थानीय आपतकालीन सञ्चालन केन्द्रहरूलाई अझै बढी सक्रिय र चलायमान बनाउने तथा सम्भावित विपदका घटनाहरूका विषयमा आम सर्वसाधारणलाई समयमै जानकारी गराउने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जनाइएको छ ।

बैठकमा बाढी, डुबान, आगलागी, डढेलो, हावाहुरी, तातो हावा ‘लु’ र अन्य विपदबाट जोगिन कार्ययोजना अनुरूपका गतिविधिहरुमा तीव्रता दिने निर्णय बैठकले गरेको जिल्ला आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेठ ३१ गते शनिबार