सूचनाको शक्ति - The Power Of Information

        

हुम्लामा फल्यो ड्रागन फ्रुट

हिमाली जिल्ला हुम्लामा फलेको ड्रागन फ्रुट ।

हिमाली जिल्ला हुम्लामा ड्रागन फ्रुट फल्न लाग्न थालेको छ । अत्यधिक जाडो हुने हुम्लामा परीक्षणका लागि तुम्चमा लगाइएको बोटले फल दिन थालेको हो । फल्छ कि फल्दैन भनेर परीक्षण गर्न आफूले १५० बिरुवा रोपेको भए पनि १०० भन्दा धेरै बोटमा यतिबेला फूल फुलेर फल लागेको अदानचुली–३ का नेत्र फडेराले बताए ।

जिल्लाको तराईका रुपमा लिँदैआएको तुम्चमा सोही फल फल्न थालेपछि अब ब्याबसायिक ड्रागन खेतीतर्फ लाग्ने उनको भनाइ छ । यतिबेला बोटमा फलेका धेरै फलको व्यावसायिक बिक्री सुरु नभएको भए पनि लगाएको दुई वर्षभित्र फल दिँदा आफूलाई सो खेती गर्न उत्साहित बनाएको छ ।

जिल्लामा भने ड्रागनको प्रतिकिलो ४०० देखि ७०० सम्म मूल्य छ । तर आफूले बिक्री गर्न नगएको बताए । फल फल्न थालेपछि यस वर्ष एक बिघा जमिनमा लागाइएको ड्रागनलाई पिल्लर हालेर टायरमाथि चढाउने सोचमा रहेको फडेराको भनाइ छ । बोटलाई हाल काठको सहायताले उभ्याइएको भए पनि फल दिइरहेको छ ।

उनले भने, ‘अझै धेरै फल फलाउनका लागि पिलरमा राख्नुपर्ने देखिन्छ ।’ फल जिल्लाको तुम्चमा मात्र नभइ मकैमा समेत धेरै जनाले गर्न थालेको अर्का स्थानीय दत्त बुढाले बताए । उनले आफ्नो बारिमा लगाइएका ड्रागनले समेत यसै बर्षबाट फल दिन थालेको बताए । आफूले पनि परीक्षण गर्नकै लागि पाँच रोपनी जमिनमा लगाएको ड्रागनले फल दिँदा मन खुसी भएको बताए ।

सो फलको खेती यतिबेला जिल्लाको अदानचुली, सलिसल्ला, बाग्रेचौर, घाट, दोमुख, पैमा र कवाडी लगायतका क्षेत्रमा लगाउन सुरु गरिएको छ । हिमाली जिल्लामा पनि फल दिन थालेपछि र यसबाट आम्दानी मनग्य हुने भएकाले खेती गर्न आकर्षण बढेको यहाँका स्थानीयको बुझाइ छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार १५:२८