२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

साइबर सुरक्षा विधेयक संसदमा, तथ्याङ्क प्रणालीमा अवरोध गरे पाँच वर्ष कैद

विवादास्पद विद्युतीय कारोबार ऐन खारेज गर्ने गरी सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्मा दर्ता गरेको छ । फरक प्रयोजनका लागि तर्जुमा भएको कानुन सामाजिक सञ्चार प्रयोगकर्ता र सञ्चार माध्यमका सामग्रीमा आकर्षित गरिएको भन्दै पछिल्लो समय खारेजीको माग हुँदै आएको थियो ।

सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक सङ्घीय संसद्बाट पारित भएसँगै उक्त कानुन खारेज हुने गरी सरकारले नयाँ विधेयक ल्याएको हो । उक्त ऐनको दफा ४७ दुरुपयोग भएको भन्दै आलोचना हुने गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विधेयक दर्ता गरेको हो । सरकारले यसअघि २०७५ मा पनि सूचना प्रविधि विधेयकमा साइबर सुरक्षा र सामाजिक सञ्जालका विषय समेटेर विधेयक ल्याएको थियो ।

सामाजिक सञ्जालका विषयमा विधेयक विवादित बनेपछि संसदीय समितिले तयार पारेको प्रतिवेदन पारित हुन सकेन । यो पटक सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा र सामाजिक सञ्जालका लागि फरक फरक विधेयक संसद्मा दर्ता गरेको हो । सामाजिक सञ्जाल विधेयक गत माघमा नै राष्ट्रिय सभामा दर्ता भएको थियो ।

विद्युतीय अभिलेख र विद्युतीय हस्ताक्षरको मान्यता दिने गरी विधेयक प्रस्तावित छ । साइबर स्पेसको सूचना सङ्कलन, संरक्षण र व्यवस्थित गर्ने उद्देश्य सरकारले विधेयकमार्फत लिएको छ । साइबर सुरक्षासम्बन्धी प्रचलित कानुनको एकीकरण गर्न विधेयकमा प्रस्ताव गरिएको छ । विद्युतीय प्रणालीको सुरक्षित प्रयोग र प्रचलनका विषयलाई पनि विधेयकमा समेटिएको छ ।

यस्ता छन् कसुर र दण्ड

प्रस्तावित विधेयकले विद्युतीय प्रणालीको प्रयोग गरी साइबर सुरक्षा तथा तथ्याङ्क प्रणालीमा अवरोध गरे पाँच वर्षसम्म कैद वा १० लाख रुपैयाँसम्म जरिबानाको प्रस्ताव गरेको छ । कसुरको मात्रा अनुसार दुवै सजाय प्रस्तावित छ ।

आर्थिक लाभ लिने प्रयोजनले विद्युतीय सूचना सम्प्रेषण गराएमा वा सूचना मेटाउने काम गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँ जरिबानाको प्रस्ताव विधेयकमा गरिएको छ । विधेयकले विद्युतीय प्रणालीको स्रोत वा सङ्केत चोरी गर्ने तथा नष्ट गर्नुलाई पनि कसुर परिभाषित गरेको छ ।

यस्ता कसुरमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँ जरिबानाको प्रस्ताव गरिएको छ । कसुरको मात्रा अनुसार दुवै सजायसमेत हुन सक्ने व्यवस्था प्रस्तावित छ । कम्प्युटर प्रणालीमा अनधिकृत रूपमा पहुँच राख्ने, प्रवेश गर्ने र सूचना हेरफेर गर्नुलाई पनि विधेयकले कसुर मानेको छ ।

यस्तो कसुरमा दुई वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय प्रस्ताव छ । प्रयोगकर्तालाई कुनै पनि विद्युतीय प्रणाली प्रयोगमा अवरोध पुर्याए तीन वर्षसम्म कैद वा तीन लाख रुपियाँ जरिबानाको प्रस्ताव गरिएको छ । कसुरको मात्रा अनुसार दुवै सजायको प्रस्ताव पनि विधेयकमा गरिएको छ ।

विद्युतीयस्वरूपको सूचनामा क्षति पुर्याउने, स्वरूप बिगार्ने, आधिकारिक व्यक्तिलाई सूचनामा पहुँच नदिने कार्य गरेमा तीन वर्षसम्म कैद प्रस्ताव गरिएको छ । यस्तो कसुरमा तीन लाख रुपियाँसम्म जरिबानाको पनि प्रस्ताव गरिएको छ ।

वैयक्तिक सूचना लिन नपाउने

विद्युतीय माध्यमबाट वैयक्तिक विवरण सङ्कलन गरेमा वा अनधिकृत रूपमा सूचना प्राप्तिलाई बन्देज गरिएको छ । वैयक्तिक सूचनाको गोपनीयता भङ्गलाई पनि कसुर मानिएको छ । कानुन बमोजिम अख्तियार प्राप्त अधिकारीले आदेश दिएबाहेकका वैयक्तिक संवाद र कुराकानीलाई रेकर्ड गरेमा पनि कसुर मानिएको छ । यस्तो कसुरमा दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँ जरिबानाको प्रस्ताव गरिएको छ ।

अश्लील सामाग्रीको उत्पादन, वितरण, प्रकाशन तथा खरिद बिक्रीलाई पनि कसुर मानिएको छ । विद्युतीय माध्यमबाट यस्तो कार्य गरेमा दुई वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिबानाको प्रस्ताव गरिएको छ । कसुरको मात्रा अनुसार दुवै सजायसमेत हुन सक्ने छ । अनुसन्धान, कानुन कार्यान्वयन, अध्यापन र चिकित्सकीय प्रयोजनका लागि भने छुट दिने प्रस्ताव गरिएको छ ।

एआई माध्यमको कसुर व्यक्ति सरह

फिसिङको माध्यमबाट युजर विवरण, पासवर्ड, पिनकोड, प्याटर्न तथा टोकनको चोरीलाई विधेयकले कसुर मानेको छ । फिसिङ लिङ्कबाट प्रयोगकर्ताको विवरण प्राप्तिलाई पनि कसुर मानिएको छ । यस्तो कसुरमा दुई वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिबानाको प्रस्ताव गरिएको छ । कसुरको मात्रा अनुसार दुवै सजाय पनि प्रस्तावित छ ।

कम्प्युटर प्रणालीको डाटा चोरी गरेमा दुई वर्षसम्म कैद वा दुई लाख रुपैयाँ जरिबानाको प्रस्ताव गरिएको छ । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को माध्यमबाट भएका कसुरलाई पनि व्यक्तिले गरेको कसुर सरह मानिएको छ । कसुरका लागि दुरुत्साहन गरेमा पनि मुख्य कसुरदार सरहको सजाय प्रस्ताव गरिएको छ । मतियारलाई भने आधा सजायको प्रस्ताव गरिएको छ ।

सङ्गठित संस्थाबाट भएको कसुरमा व्यक्ति किटानको हकमा व्यक्ति तथा किटान नभएको अवस्थामा सम्बन्धित धनी, सञ्चालक, प्रबन्ध सञ्चालक वा महाप्रबन्धकलाई आपराधिक दायित्व हुने व्यवस्था प्रस्ताव गरिएको छ । कसुरको हदम्याद छ महिना र मुद्दा सरकारवादी हुने प्रस्ताव गरिएको छ । सूचना प्रविधि विभाग, साइबर सुरक्षा केन्द्रले गरेको निर्णय उपर जिल्ला अदालतमा पुनरावेदनको व्यवस्था विधेयकमा गरिएको छ ।

अनुमति अनिवार्य

विधेयकले इजाजत नलिई डाटा र क्लाउड सेवा सञ्चालन गरेमा पाँच लाख रुपियाँसम्म जरिबाना हुने व्यवस्था प्रस्तावित छ । यस्तै नेपाल सरकारका सहसचिवको नेतृत्वमा साइबर सुरक्षा केन्द्र रहने प्रस्ताव विधेयकले गरेको छ । केन्द्रलाई डिजिटल फरेन्सिक ल्याब सञ्चालनको अधिकार पनि प्रस्ताव गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीको संयोजकत्वमा साइबर सुरक्षा निर्देशक समिति रहने प्रस्ताव छ । समितिमा गभर्नर, दूरसञ्चार प्राधिकरणका अध्यक्ष लगायत समितिमा सदस्य रहने व्यवस्था प्रस्तावित छ । निर्देशक समितिले नीतिगत तहमा सुझाव दिनेछ ।

प्रकाशित मिति : २०८२ जेठ ३१ गते शनिबार