बाँकेको खजुरा गाउँपालिका–२ का ४२ वर्षीय रेशमप्रसाद चपाईले १८ वर्षसम्म विदेशमा पसिना बगाए, तर सोचे जस्तो सफलता नभएपछि स्वदेश फर्केर कृषिमा लागे । अहिले भैँसीपालनमार्फत गाउँमै आत्मनिर्भर बनेका छन् ।
२०७६ सालदेखि आफ्नै घरमा गोठ निर्माण गरी पाँच वटा भैँसी र पाँच वटा पाडापाडीबाट व्यवसाय सुरु गरेका थिए । अहिले उनका फार्ममा पाँच भैँसी, तीन पाडी, एक राँगा, तीन बाख्रा र होलेस्टन जातका दुई वटा गाई छन् । उनले दैनिक ४० देखि ७० लिटरसम्म दुध बिक्री गर्दै आएका छन् ।
२७ वर्षको उमेरमा वैदेशिक रोजगारीको सिलसिलामा भारत हुँदै मलेसिया, कतार, कुवेत र दक्षिण अफ्रिकासम्म पुगेका उनले १८ वर्षको परिश्रमबाट कमाएको पुँजीलाई आफ्नै माटोमा लगानी गर्ने निर्णय गरे । सुरुमा १० लाख रुपैयाँ लगानी गरेर थालिएको व्यवसायबाट अहिले उनले मासिक झन्डै एक लाख २० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।
रेशमले एक बिघा आफ्नै र तीन बिघा भाडामा लिएको जमिनमा घाँस तथा पशु आहार उत्पादन गरिरहेका छन् । रेसमकी श्रीमती ४१ वर्षीय कलावती चपाईले पनि रेसमलाई व्यवसायमा सहयोग गरिरहेकी छन् । उनले पशुका लागि मकै, धान र गहुँको मिश्रणबाट घरमै दाना पनि तयार पार्छन् ।
सत्यपाटी