२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday

मौसमविद् भन्छन्, ‘आजबाट पानी पर्न सुरु भयो, अब सुक्खा हुँदैन’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ २८ गते बुधबार

देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । काठमाडौंमा आज वर्षा हुनेछ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो, साँझ र राति हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

‘हिजो जस्तै आज पनि काठमाडौंमा दिउँसो १२ बजेपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ उनले भनिन् । मौसम पूर्वानुमान महाशाखाले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आजबाट पानी पर्नेक्रम सुरु भएको मौसमविद् मानन्धर बताउँछिन् । ‘आजबाट पानी पर्ने क्रम सुरु भयो । अब हरेक दिनजसो पानी पर्छ,’ मौसमविद् मानन्धर भन्छिन्, ‘अब सुक्खा मौसम सकियो । अब नियमित जस्तै पानी पर्ने भएकाले सुक्खा हुँदैन ।’

यो हप्ताको अन्तिमसम्म कोसी प्रदेशमा रहेको मनसुन अन्य प्रदेशमा पुग्ने उनले बताइन् । ‘यो साताको अन्तिम अथवा अर्को हप्ताको सुरुसम्म मनसुन कोसीबाट अन्य प्रदेशमा पनि फैलिनेछ,’ उनले भनिन् । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । कोसी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति : २०८२ जेठ २८ गते बुधबार