२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

बर्खा लागेपछि त्रासमा बागमती किनारका बासिन्दा

सत्यपाटीसत्यपाटी । सर्लाही । २०८२ जेठ २७ गते मंगलबार

उत्तरमा चुरे सिरानी हालेको सर्लाहीको पश्चिममा रौतहटसँगको सिमाना बागमती नदीले छुट्याएको छ । चुरेको खोच छिचोल्दै निस्कने बागमती बहावले वर्षाको समयमा नदी किनारका गाउँको उठिबास लगाउने गरेको छ । खोलामा बाढी आउँदा कैयौँपटक थातथलो छाडेर भाग्नुपरेको अनुभव यहाँका स्थानीयको मानसपटलमा आज पनि ताजै छ ।

सर्लाहीको बसवरिया गाउँपालिका–२ मानपुरका ६५ वर्षीय रामसेवक महतोले प्रत्येक बर्खामा यहाँ बाढी आउने भन्दै मनसुन सुरु भएसँगै बाढीको त्रास बढ्न थालेको बताए । ‘वर्षा सुरु भएपछि रातभरि राम्रोसँग निन्द्रा लाग्दैन,’ उनले भने, ‘गत वर्ष खोलाले दुई–तीन स्थानमा ड्याम फुटायो । पानी गाउँमा पस्न थालेपछि भागेर ज्यान जोगाएका थियौँ ।’

आकाश गड्याङगुडुङ गर्न थालेपछि पशुचौपाया खोलेर गाउँतिर लाग्ने गरेको उनले सुनाए । गत वर्ष बागमतीमा आएको बाढीले बसवरियाको मानपुर क्षेत्र, रामनगर गाउँपालिका र बलरा नगरपालिकाको पश्चिम दक्षिण क्षेत्र प्रभावित भएको थियो । वर्षाको भेल गाउँ र खेतमा पसेपछि स्थानीय विस्थापित भएका रामनगर–१ का वडाध्यक्ष दिनेश यादव बताउँछन् ।

जिल्लाको दक्षिण क्षेत्रमा पुगेपछि बागमतीसँग मिसिने अन्य सहायक नदीले स्थानीयलाई दुःख दिने गरेको उनको भनाइ छ । रामनगर–१ छर्की टोलका विश्वनाथ मुखियाले गत वर्ष बागमती नदी गाउँ पस्दा एक साता बढीसम्म डुबानमा परेको सुनाए । ‘फुसको छानो र खर लिपेर भित्ता बनाइएको घर बाढीले बगाइदिएपछि विस्थापित भएका थियौँ,’ उनले भने ।

उनलाई गत वर्षको दुःख सकिए पनि यस वर्ष उस्तै सास्ती बेहोर्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । ‘चुनावका बेला भोट माग्न आउने नेताको अनुहार देख्न नपाएको धेरै भयो, यो वर्षको बर्खामा बाढीले कति बितण्डा बच्चाउने हो भन्ने चिन्ता लाग्छ,’ मुखियाले गुनासो पोखे । चुरेको काखमा बागमती खुम्चिएर बगेको भए पनि जतिजति दक्षिण गयो उति फैलिँदै गएको छ ।

नेपाल छाडेर भारत प्रवेश गर्ने स्थानसम्म पुग्दा बागमतीले आफ्नो क्षेत्र फैलाएर झण्डै तीन किलोमिटरभन्दा बढी फराकिलो बनाएको छ । बागमतीमा आएको वर्षाको भेल खेलाबाटभन्दा बढी खेत र बस्ती हुँदै बग्ने गर्छ । बागमतीको बाढीले गत वर्ष बलरा–१ का हरिशरण कापरको खाने अन्नसमेत बगाएको थियो ।

स्थानीय सरकारले समयमा बाढी रोकथामका लागि प्रभावकारी तयारी नगर्दा बर्सेनि सास्ती हुने गरेको उनको भनाइ छ । विपद व्यवस्थापनका नाममा समस्या भइसकेपछि राहत वितरण गर्नुभन्दा समयमै न्यूनीकरणका उपायबारे पहल गर्नुपर्नेमा उनले जोड दिए । खोलाले खोल्नसक्ने क्षेत्रमा बाँधको निर्माण तथा मर्मत, सम्भावित जोखिमको आँकलन र पूर्वतयारी गर्ने हो भने यस क्षेत्रका नागरिकले सधैँ विचल्ली हुनु पर्दैन ।

विपद पूर्व तयारी गरिरहेको स्थानीय तहको दाबी

विपद पूर्व तयारीमा स्थानीय पालिकाले सरोकार भएका निकायसँग छलफल गरी क्षति न्यूनीकरणको प्रयास थालिएको बताएका छन् । नागरिकको जिउधनको रक्षालाई पालिकाले पहिलो प्राथमिकतामा राखेको जनप्रतिनिधिले बताएका हुन् । बलरा नगरपालिकाका प्रमुख रामा शंकरप्रसाद कुशवाहाले सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा उद्धार स्वयंसेवक तालिम सञ्चालन गरिएको बताए ।

विपदका समयमा स्थानीय युवा परिचालन गर्न सकिनेगरी सुुरक्षाकर्मीलाई तालिम प्रदान गरिएको उनको भनाइ छ । ‘बाढी, डुबान तथा आगलागीका घटनामा स्थानीय युवा अगाडि हुन्छन्,’ प्रमुख कुशवाहाले भने, ‘उहाँहरूलाई हामीले सामान्य आत्मरक्षा र जिउधनको सुरक्षा अपनाउन सकिने उपायका बारेमा जानकारी दिनसके मात्र ठूलो जनधनको क्षति रोक्न सक्छौँ । सोहीअनुरूप सुरक्षा निकायसँग समन्वय गरेर तालिम प्रदान गरिरहेका छौँ ।’

गत वर्ष असारमा बागमतीमा आएको बाढीले जिल्लाका बलरा नगरपालिका, रामनगर, धन्कौल तथा बसवरिया गाउँपालिकाका अधिकांश वडा प्रभावित बनेका थिए । डुबानले यस क्षेत्रमा, खानेपानीको समस्या तथा शैक्षिक संस्था हप्तौँसम्म सञ्चालन हुन नसकेको स्थानीय सञ्चारकर्मी जितेश यादवले बताए । नेपालबाट ठूलो क्षेत्रमा फैलिएर गएको बागमती नदीलाई भारतले सीमा क्षेत्रबाटै दुवैतर्फ ड्याम कसेर नियन्त्रण गरेको छ ।

जसले गर्दा स्वतन्त्र ढंगले पानी बग्न नपाउँदा वर्षाको बाढी नेपालतर्फ फर्कने गरेको हो । भारत सरकारले सीमा क्षेत्रमा निर्माण गरेको एसएसबी रोडका कारण चुरेबाट सुरु भएका खहरेले अवरुद्ध हुँदै नेपाली भूमिमा क्षति गरिरहेको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार