२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

डीआइजीका घुमुवाले कोहलपुरको मोबाइल पसलबाट पाँच लाख असुलेको खुलासा

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ जेठ २७ गते मंगलबार

डर धम्की देखाएर नेपाल प्रहरी र सशस्त्र प्रहरीले कोहलपुरको एक मोबाइल पसलबाट पाँच लाख रूपैयाँ असुली गरेको खुलेको छ । कोहलपुर– ११ पुरानो बसपार्क नजिकै रहेको थ्रिस्टार मोबाइल पसलबाट गत बुधबार मध्यान्ह् नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाँच लाख असुली गरेका हुन् । मोबाइल पसलबाट पाँच लाख रूपैयाँ असुल गर्नेमा प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा र सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरी रहेका छन् ।

खान र बर्माद्वय लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) राजेन्द्रप्रसाद भट्टले बाँके, बर्दिया जिल्ला हेर्नेगरी खटाएका घुमुवा प्रहरी हुन् । प्रहरी स्रोतका अनुसार दुवैजनाको दरबन्दी प्रहरीको लागूऔषध ब्युरोमा रहेपनि डीआइजी भट्टले दुई जिल्ला हेर्नेगरी मौखिक रूपमा जिम्मा दिएका थिए । त्यस्तै अर्का चौधरी चौलिकामा रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट खटिएका सशस्त्र प्रहरीका घुमुवा हुन् । उनीहरूले पसलमा बार्गेनिङ गरेर गत बुधबारनै नेपालगन्ज–कोहलपुर सडक खण्डको जानकी गाउँपालिका–६ प्रिप्रहवाको एक खाजा पसल अगाडि पाँच लाख रूपैयाँ नगद बुझेका थिए ।

भारतीय नम्बर प्लेटको यूपी५०एए ९८८५ नम्बरको कार चढेर उनीहरू रकम बुझ्न पुगेका थिए । ‘सरहरूले कारमा पैसा राख्न लगाएपछि कोहलपुरबाट बोकेर गएको पाँच लाख नगद रूपैयाँ भारतीय नम्बर प्लेटको कारमा राखेको हुँ,’ नाम उल्लेख नगरिदिन आग्रह गर्दै ती व्यवसायीले भने, ‘पसलमा आएर लागूऔषध लगायतका मुद्दामा फसाइदिने धम्की दिएपछि मंहगो ब्याजमा सापटी लिएर पैसा बुझाएको हुँ ।’ पाँच लाख रकम बुझाउनको लागि आफूलाई पत्रकारसमेत बताउने मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोबिन्द भण्डारीले सहजीकरण गरेको उनले बताए ।

रकम बुझाउने व्यवसायीलाई अध्यक्ष भण्डारीले नै घुमुवा प्रहरीले बोलाएको स्थान पिप्रहवा पु¥याएका हुन् । थ्रिस्टार मोबाइल पसलमा राखिएको सिसिटिभी भिडिओ अनुसार तीनैजना घुमुवा बुधबार मध्यान्ह् २ बजेर ३६ मिनेट जाँदा मोबाइल पसलको बाहिर पुगेका थिए । उनीहरूमध्ये दुई जना प्रहरीका घुमुवाले आफूहरू प्रहरी भएको भन्दै पसलमा छापा हान्न आएको भनेर प्रहरीको परिचयपत्र समेत देखाएको मोबाइल पसल सञ्चालकले मिसन टुडेलाई बताए । लगत्तै प्रहरीका दुई जना घुमुवाले बाहिरपट्टी सेवाग्राही बस्ने कुर्सीमा बसेर केरकार गर्छन् भने सशस्त्र प्रहरीका घुमुवाले रेकी गर्छन् ।

प्राप्त सिसिटिभी भिडिओ अनुसार केही मिनेट बाहिरबाटै केरकार गरेपछि २ बजेर ४३ मिनेटमा प्रहरी सहायक हवलदार बर्मा पसलभित्र छिर्छन् । लगत्तै प्रहरी सहायक हवलदार खानसमेत भित्र पस्छन् । २ बजेर ५० मिनेट जाँदा प्रहरीसँग कुराकानी गरेर सशस्त्रका घुमुवा चौधरीसमेत मोबाइल पसलभित्र पसेको सिसिटिभी भिडिओमा प्रस्ट देखिन्छ । त्यसपछि तीनै जना मिलेर पसल सञ्चालकलाई सोधपुछ गर्छन् भने पसलमा राखिएका मोबाइल लगायतका सामानहरू खोलेर हेर्छन् । घुमुवा प्रहरीले धम्की दिन थालेपछि पसल सञ्चालकले मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोबिन्द भण्डारीलाई फोन गर्छन् ।

२ बजेर ५९ मिनेटमा संघका अध्यक्ष भण्डारी एकजना अन्य रिजाल थरका व्यक्तिलाई लिएर भित्र छिर्छन् । ३ बजेर १४ मिनेटमा अध्यक्ष भण्डारीसँग गएका व्यक्तिले भित्रबाट सबै सटर बन्द गरिदिन्छन् । त्यसपछि घुमुवा प्रहरी, संघका अध्यक्ष भण्डारी उनीसँग गएका रिजाल थरका व्यक्ति, पसल सञ्चालकबीच केहीबेर कुराकानी भएको सिसिटिभी भिडिओमा देखिन्छ । ३ बजेर १९ मिनेटमा पसल सञ्चालक हात जोडेर उनीहरूसँग हारगुहार गरिरहेका देखिन्छन् । त्यसपछि संघका अध्यक्ष तथा घुमुवा प्रहरी मिलेर फेरी पसलका सामानहरू हेर्छन् ।

३ बजेर २७ मिनेटमा उनीहरूले पसलमा जडान गरेको सिसिटिभी क्यामेरा सञ्चालनको लागि जडान गरिएको लाइनको तार नै निकालेर सिसिटिभी क्यामेरा बन्द गराउँछन् । सिसिटिभी क्यामेरा बन्द गराएपछि धम्की दिँदै उनीहरूले पसल सञ्चालकसँग पैसाको बार्गेनिङ गर्न सुरु गर्छन् । पसलमा कार्यरत एक कर्मचारीका अनुसार घुमुवा प्रहरीले आफूहरूले मागेको रकम नदिए लागूऔषध लगायतका मुद्दामा फसाइदिने भन्दै धम्की दिएका थिए । संघका अध्यक्ष भण्डारीले समेत घुमुवासँग निहु नखोज्न र मिलाएर जान नै पसल सञ्चालकलाई सुझाव दिएका थिए ।

सुरुमा उनीहरूले आठ लाख रूपैयाँ दिनुपर्ने माग गरे । पसल सञ्चालकले त्यति रकम दिन नसक्ने भन्दै मिलाउन भनेपछि उनीहरूले सात लाख रूपैयाँको माग गरेका थिए । सात लाखमा समेत कुरा नमिलेपछि पाँच लाख भए हुनेगरी घुमुवासँग कुरा मिलाए । त्यसपछि उनीहरूले आफूलाई तत्कालै पाँच लाख रूपैयाँ दिनुपर्ने र नपाए राम्रो नहुने बताएका थिए । पसल सञ्चालकले आफूसँग अहिले त्यतिधेरै पैसा नभएको र दुई चार दिनमा दिने प्रस्ताव गरे । उनीहरूले त्यो प्रस्ताव नमानेपछि सञ्चालक ऋण खोज्नतिर लागेका थिए । त्यहीबाट नै केही व्यक्तिलाई पैसा चाहिएको भन्दै उनले फोन गरे ।

कतैबाट समेत पैसाको जोहो हुन नसकेपछि पसल सञ्चालकले महंगो ब्याज दिनेगरी एक व्यक्तिबाट पाँच लाख रूपैयाँ सापटी पाएका थिए । ती व्यक्तिलाई उनीले आफ्नो स्टाफ मन्सुर खानको नाममा पाँच लाखको चेक काट्न लगाए । खानको नाममा पाँच लाखको चेक आइसकेपछि सडकमा राखिएको सिसिटिभी भिडिओ अनुसार घुमुवा प्रहरीहरू चेक साटेर रकम ल्याउनु भन्दै ३ बजेर ५१ मिनेटमा पसलबाट बाहिरिएका थिए । ३ बजेर ५२ मिनेटमा सय मिटर टाढा हरियाली मार्गमा राखिएको भारतीय नम्बर प्लेटको यूपी५०एए ९८८५ नम्बरको कार चढेर तीनै जना घुमुवाहरू गएका थिए ।

उनीहरूले पसल सञ्चालकलाई चेक साट्न लगाएर नगद रकम ल्याउन संघका अध्यक्ष भण्डारीलाई जिम्मा दिए । घुमुवा गएपछि तत्कालै पसल सञ्चालक आफ्नो मोटरसाइकलमा संघका अध्यक्ष भण्डारीलाई राखेर इलाका प्रहरी कार्यालय नजिकै रहेको एक वाणिज्य बैंकमा चेक साट्न पुगेका थिए । चेक साटेर नगद लिएपछि अध्यक्ष भण्डारीले उनीलाई पिप्रहवामा रकम बुझाउन जानुपर्ने भयो भनेर उतै लगे । पहिला नै त्यहाँ भएका उनीहरूले नगद पाँच लाख रूपैयाँ भारतीय नम्बरको कारमा राख्न लगाएका थिए । पाँच लाख नगद दिएको कुरा कसैलाई खबर गरे सिध्याइदिने धम्कीसमेत मोबाइल पसल सञ्चालकलाई दिएको बताइएको छ ।

‘पैसा नदिँदा मात्रै होइन, पैसा दिएपनि कतै खबर गरे राम्रो हुँदैन भनेर धम्की दिए,’ ती पसल सञ्चालकले शनिबार भने, ‘बिहीबारसमेत नेपालगन्जको गणेशमान चोक नजिकैको मोबाइल पसलमा बोलाएर अरु कसैलाई थाहा दिए ब्राउनसुगर केसमा फसाइदिने बताए ।’ उनीहरूले मोबाइल पसल सञ्चालकलाई आगामी दिनमा मिलेर काम गर्नुपर्ने भन्दै अब ढुक्क गएर काम गर्न भनेका थिए । बिहीबार इलाका प्रहरी कार्यालय कोहलपुरमा मुद्दा दर्ता गर्न खोजेका उनलाई संघका अध्यक्ष भण्डारीले मुद्दा दर्ता नगरेर मिलेर जानुपर्ने भन्दै नेपालगन्जको गणेशमान चोक नजिकै पुर्याएका थिए ।

घटनामा संघका अध्यक्ष भण्डारी र उनीसँग गएका अर्का रिजाल थरका व्यक्तिको भूमिका शंकास्पद देखिएको छ । यस विषयमा भण्डारीसँग बुझ्न खोज्दा उनले फोन उठाएनन् । इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले गत बुधबार प्रहरीले आफ्नो एरियामा छापा मारेको भन्ने कुरा आफूहरूको जानकारीमा नभएको बताइन् । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) राजेन्द्रप्रसाद भट्टले आफूले घटनाबारे थाहा पाएकोले भएको के रहेछ भनेर बाँके प्रहरीलाई बुझ्न निर्देशन दिएको बताए । ‘घटनाबारे थाहा पाएपछि के भएको रहेछ भनेर बुझ्न निर्देशन दिएको छु,’ उनले मिसन टुडेसँग कुराकानी गर्दै भने, ‘औपचारिक च्यानलबाट जानकारी भने छैन ।’

खान र बर्मालाई आफूले खटाएको भन्ने कुरामा कुनै सत्यता नभएको डीआइजी भट्टले दाबी गरे । खान र बर्मालाई तपाईँले बाँके र बर्दियाको जिम्मा दिएर खटाउनुभएको रहेछ नी ? भन्ने प्रश्नमा उनले भने, ‘प्रदेशले कसैलाई खटाएको पनि छैन । मैले खटाएको भन्ने कुरामा समेत सत्यता छैन ।’ सशस्त्र प्रहरी बल नम्बर ३० गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) शोभाकान्त खनालले पसलमा छापा हान्न आफूहरूले नपठाएको भन्दै घुमुवा चौधरी एकदमै सिधा रहेको भन्दै विषयलाई टार्न खोजे । स्रोतका अनुसार उनले रकम असुलीका लागि चौधरीको कमाण्डमा सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट अर्का एकजना सशस्त्र प्रहरीलाई समेत खटाएका छन् ।

स्रोत : मिसन टुडे न्यूज
प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार