भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका तीनै जना बालबालिकाको शव भेटिएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो तीन बालबालिका बेपत्ता भएका थिए । उनीहरु सबैको शव फेला परेको छ ।
बगेर बेपत्ता भएकामध्ये १२ वर्षीया आशा कुसारीको शव घटनास्थलदेखि ४ किलोमिटर दक्षिण नलगाड नगरपालिका–७ चापाखोला नजिक फेला परेको छ । उनको शव बेपत्ता भएको तीन दिनपछि सोमबार बेलुकी ६ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
नलगाड नगरपालिका–८ मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेशको शव यसअघि फेला परेको थियो । सुरेन्द्रकै छोरी १२ वर्षीया आशा भने बेपत्ता थिइन् । उनीहरू तीनै जना गत शुक्रबार दिउँसो स्कुलबाट घर आएर नुहाउन भन्दै भेरी नदी पुगेका थिए ।
भेरी किनाराको बस्ती मन्मैमा हुर्केका उनीहरू पहिले पनि शरीर शीतल बनाउन भेरीमा पस्थे । शुक्रबार पनि त्यसैगरी भेरीमा हेलिएका थिए । सुरुमा आशाका भाइ महेश बगेका थिए । महेशलाई बचाउन भन्दै आशा र भगवती पनि भेरीमा गएका थिए ।
नदीमा तीन बालबालिका बगिरहेको सूचना पाउनासाथ रुकुम पश्चिमको इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा ९ जनाको प्रहरी उद्धारका लागि खटिएको थियो । प्रहरी टोलीले भगवतीलाई अचेत अवस्थामा उद्धार गरी आठबिस नगर अस्पताल पुर्याउँदा चिकित्सकले शुक्रबार दिउँसो मृत घोषणा गरेका थिए ।
महेशको शव भने बगेको ठाउँबाट झन्डै ९०० मिटर दक्षिणबाट सोही दिन बेलुका चार बजेतिर फेला परेको थियो । घटनास्थल जाजरकोट र रुकुम पश्चिमको सीमा क्षेत्र हो । उनीहरू जाजरकोट क्षेत्रको मन्मैमा बस्दै आएका थिए । तीन बालबालिकाको मृत्युसँगै मन्मै शोकमा डुबेको छ ।
सत्यपाटी संवाददाता । जाजरकोट