विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा अवलोकन गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले पाटेबाघसहित निकुञ्जमा रहेका अन्य वन्यजन्तु अवलोकनका लागि चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ७०० भन्दा बढी पर्यटकले निकुञ्जमा पुगेर अवलोकन गरेको बताए ।
उनले गत आर्थिक वर्ष २०८०–०८१ मा ४४४ पर्यटकले निकुञ्जमा आएर अवलोकन गरेको जनाउँदै यस वर्ष दुई महिना बाँकी छँदै ७०० भन्दा बढी पर्यटक आउनु निकै सकारात्मक सङ्केत भएको बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रमा वनभोज लगायतका क्रियाकलापमा वर्षमा ५० हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरे पनि वन्यजन्तुको वासस्थान रहेको निकुञ्जभित्रको क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या ७०० को हाराहारीमा रहेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताए ।
उनका अनुसार निकुञ्जभित्र पुगेका सबै पर्यटक निकुञ्ज मध्यवर्ती क्षेत्रमा सञ्चालित घरवास (होमस्टे) मार्फत निकुञ्जभित्र अवलोकन गरेका हुन् । मध्यवर्ती क्षेत्रमा घुम्न आउने बढीभन्दा बढी पर्यटकलाई निकुञ्ज अवलोकनमा ल्याउन सक्ने व्यवस्था होमस्टे तथा होटल व्यवसायीले गर्नुपर्नेमा बाँके राष्ट्रिय निकुञ्जले विशेष जोड दिएको छ । पर्यटक घुमाउनका लागि होमस्टे तथा होटल व्यवसायीले प्रसस्त मात्रामा सफारी गाडीको व्यवस्था गर्नसके निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या अझै धेरै बढ्ने वरिष्ठ संरक्षण अधिकृत कँडेलको भनाइ छ ।
निकुञ्जमा वन्यजन्तुसँगै प्राकृतिक दृश्य हेर्न पर्यटकको सङ्ख्या बढ्दै गए पनि सन्तोष गरेर बस्ने अवस्था अझै नरहेको मध्यवर्ती क्षेत्रमा रहेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताए । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा गाभर होमस्टे, खड्कवार होमस्टे र नयाँगाउँ होमस्टे सञ्चालनमा छन् । पर्यटन प्रवर्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन अझै प्रचारप्रसार र पर्यटन सम्बन्धी कार्यक्रम तथा गतिविधि कम रहेकाले त्यसलाई बढाउनुपर्ने बताए ।
बाँके निकुञ्जमा अहिले बाघ लगायत चितुवा र अन्य वन्यजन्तुको सङ्ख्यामा वृद्धि हुनुका साथै बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको छ । २०७९ सालको सर्वेक्षण अनुसार बाँके राष्ट्रिय निकुञ्जमा २५ वयस्क बाघ छन् । यस्तै स्तनधारी वन्यजन्तु ३४, चरा २७६, सरिसृप २४, उभयचर नौ र माछा ५५ गरी ४२२ प्रजाति छन् । विसं २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज नेपालगन्ज विमानस्थलबाट १६ किलोमिटरको दूरीमा छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र छ । स्थल र हवाईमार्गबाट निकुञ्जमा सहजै पुग्न सकिन्छ ।
सत्यपाटी