पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोट र वडा नं.३ रिमिघा लेकमा यार्सागुम्बा फेला परेको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरको परीक्षणले यो बहुमूल्य जडीबुटी यार्सागुम्बा भएको पुष्टि भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताए ।
गत साता रिमिघा लेकमा झाडी सफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्दा यार्सागुम्बा जस्तो वस्तु भेटिएको थियो । उक्त वस्तुको पुष्टिका लागि प्रयोगशालामा पठाइएको थियो । गाउँपालिकाले सो क्षेत्रमा प्रवेश निषेध गरेको छ र सूचना जारी गरी सर्वसाधारणलाई रोक लगाएको छ ।
प्रयोगशालाको प्रतिवेदनपछि जिल्ला सुरक्षा समितिको बैठकले यार्सागुम्बा भेटिएको क्षेत्रमा केही दिन प्रवेश निषेध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । ‘रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ,’ प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने, ‘तर त्यो कस्तो प्रजातिको हो, साथै त्यसको मेडिसनल भेल्यु कति छ भन्ने यकिन भएको छैन ।’
१,८०० मिटर उचाइमा यार्सागुम्बा भेटिएपछि जिल्लावासी उत्साहित छन् । हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने यार्सागुम्बा विश्वकै बहुमूल्य औषधिजन्य जडीबुटी हो । आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा छ ।
यार्सागुम्बाको औषधीय गुणले शक्तिवर्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको संक्रमण, मिर्गौला, कलेजो, मुटु जस्ता रोगको औषधि बनाउन प्रयोग हुन्छ । यो समुद्री सतहबाट ३,५०० देखि ५,५०० मिटर उचाइमा पाइन्छ । आयुर्वेद चिकित्सकका अनुसार यो च्याउ र लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो ।
सत्यपाटी